प्रकृति र नेपाल
नेपालको प्रकृति देशकाे सबैभन्दा ठूलो शक्ति हो। संसारमै नेपालको जस्तो प्रकृति कहीँ पनि छैन भन्ने कुरा केवल गर्वको विषय मात्र होइन, यो एक वैज्ञानिक र भौगोलिक सत्य पनि हो। नेपालको प्राकृतिक सौन्दर्य हेर्नकै लागि विदेशीहरूले लाखौँ रुपैयाँ खर्च गरेर वर्षेनी नेपाल भ्रमण गर्छन्। उनीहरूलाई नेपालका हिमाल, पहाड, वनजङ्गल, स्वच्छ हावा, शान्त वातावरण र सांस्कृतिक विविधताले यस्तो मोहित बनाइदिन्छ कि यहाँ एक पटक आएपछि फेरि–फेरि फर्किन मन लाग्छ। प्रकृतिमा हराउन, मनलाई शान्त पार्न र आत्मालाई हलुका बनाउन नेपालभन्दा राम्रो ठाउँ सायद विश्वमा नै छैन । नेपालको प्रकृतिले सबै नेपालीहरूलाई गर्वकाे महसुस गराउँछ। नेपालका हरियालीले ढाकेका वनजङ्गल, बादल समातेर बसेझैँ देखिने पहाड, आँखा लोभ्याउने हिउँले ढाकिएका हिमालहरू र विश्वमै दुर्लभ जीवजन्तुहरूले सबै दर्शकलाई मन्त्रमुग्ध बनाइदिन्छन्। नेपालमा पाइने ती अग्ला–अग्ला चुचुराहरूको त वर्णन गरेर साध्य नै छैन। तिनको सुन्दरतालाई शब्दमा कैद गर्न कठिन छ। त्यति मात्र नभई नेपालमा अनगिन्ती साना–ठुला पहाडहरू छन्, जसले घेरिएका उपत्यकाहरूको सौन्दर्यले जो–कसैलाई पनि मोहित पार्छ।
नेपालमा साना र ठुला गरी ६,००० भन्दा धेरै नदीनालाहरू बगिरहेका छन्, जसले देशलाई जलस्रोतमा अत्यन्तै धनी बनाएको छ। विश्वकै सबैभन्दा उच्च स्थानमा रहेको ताल नेपालमै भेटिन्छ, जुन नेपालको प्राकृतिक विशिष्टताको प्रतीक हो। यति मात्र होइन । संसारबाट लोप हुन लागेको धेरै अद्भुत जीवजन्तुहरूको आश्रयस्थल पनि यही नेपालको हरियो वनजङ्गल हो। राष्ट्रिय निकुञ्ज र संरक्षित क्षेत्रहरूले यी जीवजन्तु तथा वनस्पतिलाई सुरक्षित राख्दै छन्, जसले नेपालको पर्यावरणीय महत्त्व अझ बढाएको छ।
विश्वमै प्रकृतिको धनी देश नेपाल हो भन्नु गलत होइन। प्रकृतिले यति धेरै माया गर्ने देश अरू कहाँ होला र ? प्रकृतिले नेपाललाई मात्रै होइन नेपालले पनि प्रकृतिलाई माया गर्छ। नेपालको अधिकांश जनसङ्ख्या प्रकृतिलाई हानि पुऱ्याउन हुँदैन भनेर सचेत भइसकेका छन् नेपालको प्रकृति नेपालको विकासको एउटा महत्त्वपूर्ण आधार हो । प्रकृतिको सदुपयोग गरेर देशलाई अघि बढाउने हो भने नेपाल निकै नै शक्तिशाली राष्ट्र बन्न सक्छ नेपालको प्रशस्त जलस्रोतको कारण नेपालमा ८३,००० मेगावाट बिजुली उत्पादन गर्ने क्षमता छ। प्रशस्त विजुली उत्पादन गरेर छिमेकी देशहरूलाई बिजुली बेचेर देशको अर्थतन्त्रमा सुधार ल्याउन सकिन्छ। नेपालको यातायात सुविधालाई अझै सहज बनाएर धेरै पर्यटक आकर्षण गर्न सकिन्छ । यसले देशको अर्थतन्त्रमा पनि सुधार ल्याउँछ र अन्तराष्ट्रिय सम्बन्धलाई पनि बलियो बनाउँछ। यस बारेमा सबै नेपालीहरूलाई सचेत बनाउनुपर्छ र सबै नेपालीहरू मिलेर नेपालको प्रकृतिको संरक्षण नगरेमा त्यसले हामी सबै नेपालीहरूलाई धेरै घाटा गर्छ।
यसबाहेक, नेपालका पर्यटकीय स्थानसम्म सहज यातायात पुर्याउन सके, अझ धेरै पर्यटक नेपाल तान्न सकिन्छ। जसले रोजगारी, व्यापार, अन्तर्राष्ट्रिय सम्बन्ध र सांस्कृतिक परिचयलाई पनि मजबुत बनाउँछ। यसका लागि सबै नेपाली एकजुट भएर प्राकृतिक स्रोतहरूको संरक्षणमा जुट्नैपर्छ। यदि हामीले बेवास्ता गर्यौँ भने प्रकृतिले दिएको यो अनुपम उपहार गुम्ने खतरा पनि हुन्छ र त्यसको घाटा हामी सबैले बेहोर्नुपर्छ।
नेपालको प्रकृति नेपालले पाएको एउटा अमूल्य उपहार हो। प्रकृतिले नेपाललाई माया गर्छ, त्यसैले हामी सबै नेपालीले पनि प्रकृतिलाई आमा जस्तै सम्मान र संरक्षण गर्नुपर्छ। प्रकृतिलाई हानि पुग्दा हरेक सभ्य नागरिकको मन पोल्छ। प्रकृतिलाई नास गर्नेहरूले देश, जनजीवन र भविष्य नै जलाइदिन्छन्। सीताको पवित्र भूमिमा रावणका जस्ता दुष्ट प्रवृत्तिले प्रकृतिमा आगो लगाउँदा, हरेक सज्जन नागरिकको कपासजस्तो कोमल हृदय खरानी हुने गरी पोल्छ। त्यसैले नेपाल र नेपालीको पहिचान बनेको प्रकृतिलाई जोगाउनु हाम्रो सबैको कर्तव्य हो।
1 reads
Published on 12/2/2025
Aarjan Shrestha is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Aarjan Shrestha
Grade 11
Roll No: 27058
2
More Articles from
Student