बिर्सने रोग
बिर्सने रोग
मलाई हरेक बिहान आफ्नो नाम सम्झनुपर्छ। त्यो कागजमा लेखेर राखेको हुन्छ, “तिमी अर्जुन हौ ? काठमाडौँमा बस्छौ। तिम्रो उमेर २८ वर्ष हो।”
आज बिहान त्यो कागज फरक थियो। त्यहाँ लेखिएको थियो, “तिमी झुट बोलिरहेका छौ। तिम्रो साँचो नाम सुरेश हो। तिमी पोखरामा बस्छौ। तिम्रो उमेर ३२ वर्ष हो।”
मेरो हात काम्यो। यो मेरो हस्तलेख थियो तर मलाई याद छैन यो कहिले लेखेको हो।
डा. महर्जनले भनेका थिए, “तपाईँलाई डिसोसिएटिभ आइडेन्टिटी डिसअर्डर छ। तपाईंमा धेरै व्यक्तित्व छन्। तिनीहरू एकअर्कालाई चिन्दैनन्।”
“कति जना?” मैले सोधेको थिएँ।
“हामीले अहिलेसम्म सात जनालाई चिनेका छौँ।”
सात जना। एउटै शरीरमा। एउटै मस्तिष्कमा तर सबै फरक-फरक नाम, फरक सम्झना, फरक जीवन।
म अर्जुन हुँ । या मलाई त्यस्तै लाग्छ। म सफ्टवेयर इन्जिनियर हुँ तर केही दिन म घर फर्कन्छु र मेरो कम्प्युटरमा कविताहरू लेखिएका हुन्छन्। म कविता लेख्दिन। त्यो ‘राजेश’ हुन्छ, मध्येको अर्को।
कहिलेकाहीँ म ब्युँझन्छु र मेरो हातमा रङ्ग हुन्छ। भित्तामा अर्धसमाप्त चित्र हुन्छ। त्यो ‘सोनम’ हो, जो चित्रकार हो। म चित्र बनाउन जान्दिनँ।
सबैभन्दा डर लाग्दो कुरा के हो भने, म मात्र डराएको व्यक्ति होइन। बाँकी सबै पनि डराएका छन्। हामी एकअर्कासँग युद्धमा छौँ । एउटै शरीरको नियन्त्रणका लागि।
आज म अफिसमा थिएँ। बैठकमा बसेको थिएँ। अचानक सबै कुरा काला भए। जब आँखा खुले, म बसमा थिएँ। पोखरातर्फ जाँदै। मेरो झोलामा सुरेशको नागरिकता थियो। मलाई थाहा भयो सुरेस बाहिर आएको थियो।
म पोखरा चिन्दिनँ तर सुरेस चिन्छ। उसको त्यहाँ परिवार छ । पत्नी र छोरा। उनीहरूलाई थाहा छैन सुरेश कहिलेकाहीँ गायब हुन्छ, र अर्को कोही आउँछ।
म बसबाट ओर्लिएँ। फोन निकालेँ। डा. महर्जनलाई कल गरेँ।
“म पोखरामा छु। फेरि भयो।”
“अर्जुन? शान्त हुनुहोस्। सास फेर्नुहोस्। तपाईं आफैँमा फर्कनुभयो?”
“हो, तर म यहाँ के गर्दै छु? मलाई केही याद छैन।”
“सुरेश बाहिर आएको थियो। यो उसको घर हो।”
म स्तब्ध भएँ। घर? मेरो घर त काठमाडौँमा छ। तर सुरेशको...
“डाक्टर साहब, यो कहिलेसम्म? म कहिलेसम्म यसरी बाँच्ने? आज अर्जुन, भोलि सुरेस, पर्सि राजेस?”
उहाँ चुप लाग्नुभयो। त्यसपछि भन्नुभयो, “सत्य सुन्न चाहनुहुन्छ?”
“हो।”
“कुनै पनि ‘असली’ छैन। अर्जुन, सुरेश, राजेश, सोनम । सबै तपाईंका भाग हुन्। तपाईं एक जना होइन। तपाईं सात जना हुनुहुन्छ र सबै उत्तिकै असली छन्।”
मेरो टाउको घुम्यो। यदि सबै असली छन् भने, म को हुँ?
“समस्या यो होइन कि तपाईं धेरै व्यक्तित्व हुनुहुन्छ,” डाक्टर साहबले जारी राख्नुभयो। “समस्या यो हो कि तिनीहरू एकअर्कालाई स्वीकार गर्दैनन्। प्रत्येकले आफू मात्र असली हो भन्ने सोच्छ। तपाईं एकीकृत हुनुपर्छ।”
“कसरी?”
“तिनीहरूसँग कुरा गर्नुहोस्। एकअर्कालाई चिन्नुहोस्। झगडा होइन, संवाद।”
त्यो रात मैले केही नयाँ गरेँ, डायरी खोलेँ, लेखेँ ।
“प्रिय सुरेश, राजेश, सोनम र अरू सबै मलाई माफ गर। मैले तिमीहरूलाई शत्रु ठानेँ तर हामी शत्रु होइनौँ। हामी एउटै मान्छेका भाग हौँ। म जान्न चाहन्छु, तिमीहरू को हौ ? तिमीहरू के चाहन्छौ ? हामी कसरी सँगै बाँच्न सक्छौँ ?”
बिहान जब उठेँ, डायरीमा जवाफ थियो। फरक हस्तलेखमाः
“प्रिय अर्जुन, म राजेश हुँ। म तब आउँछु जब तिमी धेरै तनावमा हुन्छौ। कविता लेख्नु मेरो तरिका हो शान्ति खोज्ने। म तिम्रो शत्रु होइन। म तिम्रो मुक्ति हुँ।”
अर्को पन्नामा,
“म सोनम। म तब आउँछु जब तिम्रो हृदय भरिएको हुन्छ र शब्द पुग्दैनन्। म चित्रमार्फत बोल्छु। म तिम्रो रचनात्मकता हुँ।”
त्यसपछि सुरेसको,
“म तिम्रो पारिवारिक भाग हुँ। तिमीलाई माया चाहिन्छ तर तिमी माग्न डराउँछौ। म त्यो भूमिका निभाउँछु।”
आँसु आयो। यी सबै मेरै भाग थिए। म एक्लो थिइन। म सात जना थिए र हामी सबै एकअर्काको रक्षा गर्न खोजिरहेका थियौँ।
महिनौँ लाग्यो। धेरै थेरापी सेसन। धेरै डायरी पाना तर बिस्तारै हामी एकअर्कालाई चिन्न थाल्यौँ। झगडा घट्यो। संवाद बढ्यो।
आज म जान्दछु, म अर्जुन मात्र होइन। म राजेश पनि हुँ, सोनम पनि, सुरेस पनि। म एक होइन। म धेरै हुँ। र त्यसमा केही गलत छैन।
मनोविज्ञानले सिकायो, मान्छे एकल होइन। हामी सबैमा धेरै स्वर छन्, धेरै आत्मा छन्। फरक यति मात्र हो कि केहीमा ती स्वर यति नजिक छन् कि ती एउटै जस्तो लाग्छ र केहीमा, मजस्तै, ती स्वर फरक-फरक नाममा बाँचिरहेका छन्।
तर अन्त्यमा, हामी सबै एउटै सत्य खोजिरहेका छौँ । आफैँलाई चिन्ने, स्वीकार्ने र प्रेम गर्ने। चाहे हामी एक हौँ वा सात।
6 reads
Published on 2/27/2026
Aarjan Shrestha is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Aarjan Shrestha
Grade 11
Roll No: 27058
2
More Articles from
Student