"राम्ररी जीवन बिताउनु । बिदामा आउँदै गर्नु ।" यही थिए आमाले बोल्नु भएका शब्दहरू।

भनिन्छ, नेपाल जस्तो सानो देशमा केही हुँदैन । सपना देख्नुपर्छ त विदेशको । यस्तो भन्ने फेरि यही देशका नागरिक। अनि यस्तै सोच भएको परिवारमा जन्मेकी थिएँ म । सानैदेखि मलाई विदेश जानुर्पछ भनेर भनिन्थ्यो । मैले आमाले भनेको सुन्थे- "यहाँ बसेर केही हुँदैन। बरू यसलाई अमेरिका अथवा जापान पठाए हुन्छ ।" आमाले मालाई पनि भन्नुहुन्थ्यो-" नानी तँ विदेश जानुपर्छ । त्यहाँ त कस्तो राम्रो हुन्छ नि । त्यहाँ त कति धेरै खेलौना पनि पाउँछेस् नि तैँले।" म त्यो समयमा २-३ कक्षामा पढ्थेँ ।

सानैदेखि विदेशको चर्चा सुनेर होला मलाई पनि विदेश जाऊँ जाऊँ लाग्थ्यो । लाग्थ्यो विदेश कति राम्रो थियो होला। ठुलो हुँदै गएपछि पनि लाग्थ्यो- “आमा र बुबालाई विदेश गएपछि मात्रै खुसी पार्न सक्छु । विदेश गएर पनि के नै हुन्छ र ? त्यहीबाट राम्रो पैसा पाइन्छ । सुनेअनुसार त्यहाँ गाह्रो पनि हुँदैन । आमाबुबाको सपना पूरा गर्न भए पाने गए हुन्छ ।"कलिलो माटोले रूप लिए जस्तै मेरो मस्तिष्कले यस्तो रूप लिन पुग्यो । यसैगरी समय बित्दै गयो । बितेको समयसँगै मेरो सपना पनि बढ्दै गयो । मेरो सपना थियो विदेश गएर सुन्दर जीवन बाँच्ने । मलाई लाग्थ्यो । विदेशमा जीवन सजिलो मात्र हुन्छ। त्यसैले म तड्पिन्थे विदेश जान।

छिट्टै मैले १२ पास गर्ने बेला भयो । त्यही भएर घरमा फेरि म विदेश जाने कुरा बाक्लियो। म पनि जान उत्सुक भएको देखेर म विदेश जाने नै भए । मैले धेरै गर्न पर्यो । के फर्म भर्न पर्ने अनि फेरि के टेस्ट दिन पर्ने । तर यो सबै गर्न म उत्सुक थिएँ । त्यही भएर केही भनिनँ । सानो बच्चालाई चक्लेट दिएर खुसी परे जस्तै म खुसी थिएँ ।

मेरो विदेश जाने दिन नजिकै आयो। मेरा प्यारा आमा र बुबालाई छोड्ने सोचले म तड्पिएकी थिए। आफ्नो प्यारो मातृभूमि छोड्ने सोचले मलाई रुवाएको थियो । मैले आगनमा खेलेका र टेकेका सबै पाइला मैले एक चोटि सम्झिए र झारे मेरा ती अनगिन्ती आँसुहरू।

समय छिटै बित्यो र आयो मेरो विदेश जाने दिन। एयर्पोर्टमा झरे आँसुहरू फेरि एक पटक । आमा र बुबाका ती आँसु देखेर मैले आफूलाई थाम्न सकिन। मेरो यात्राको सबैभन्दा कठिन समय भनेको यहि नै थियो होला। तर मैले आफूलाई सम्हाले र लागे आफ्नो यात्रा तिर।

धेरै समयको लामो यात्रापछि आइपुगेँ म मेरा सपनातिर। तर त्यहाँ उत्रे पछि मेरो मनमा च्वाँस्स केही बिज्यो । के थियो? मलाई थाहा छैन । तर यति भने थाहा छ कि अमेरिका मैले सोचेको र सुनेको जस्तो थिएन। मलाई थाहा थिएन के हुने वाला थियो अब । म एउटी कसैलाई नचिन्ने भौतारिएकी र नचिनेको देशमा आएकी अनजान केटी थिए । तर मलाई त्यहाँको भाषा थाहा भएर अलि सहजिलो भयो । तर जागिर पाउन भने धौ धौ पर्यो । अन्त्यमा मैले एउटा काम पाएँ । त्यो काम थियो सफा गर्नेको । मेरो शिक्षाअनुसार मैले मेरो देशमा एउटा राम्रो जागिर पाउँथे जसले राम्रो पैसा दिन्थ्यो । तर अहिलेको कामले न त राम्रो पैसा दिन्थ्यो न त राम्रो सुरक्षा । यो कामबाट मैले सूर्यको ताप मात्र पाउने थिएँ । त्यस बेला मैले थाहा पाएँ । विदेशमा जीवन राम्रो हुने हैन रहेछ । मैले यो काम १ वर्ष गरेँ।

त्यो वर्षको अन्त्यतिर मैले घर जाने निर्णय गरेकी थिएँ । आमा र बाबासँग पनि नबोलेको धेरै भएको थियो। मैले आमाले मलाई अन्तिम पटक भन्नुभएको कुराहरू मैले सम्झेँ। आमाले भन्नुभएको थियो-"राम्ररी जीवन बिताउनु । बिदामा आउँदै गर्नु।" आमाको कुरा सम्झेर मलाई मैले बिताएको जीवन सम्झेँ । मेरो हातको छाला पक्पक उक्किएका थिए । घामले नडढेको ठाउँ कतै थिएन। मेरो दुई थोपा आँसु कठोर भूमिमा खसे र मैले मेरा आँसु पुछे ।

घर जाने सोचले म धेरै खुसी थिएँ । आमाको उज्यालो अनुहार र बाबाको सुन्दर मुस्कान हेर्न म खुसीले भरिएकी थिए । मैले डिसेम्बर १७ देखि काम छोड्ने भएकी थिएँ । आमा र बुबाको लागि मैले कोसेली किनेकी थिएँ । तर डिसेम्बर १२ को त्यो रातमा मेरो यो उत्सुकता रोकियो । त्यस रात मेरो ड्युटी थियो । रातिमा ड्युटी पर्नु भनेको म भाग्यमानी ठान्थेँ । त्यो भनेको कठोर घाममा काम गर्न नपर्ने हुन्थ्यो । त्यसैले म खुसी भएर गएँ । मैले सफा गरेर मेरो ड्युटी सकिने बेलामा मैले पछाडीबाट हर्न बजेको सुनेँ। पछाडि फर्किएर हेर्दा मैले एउटा गाडी मतिर आएको देखेँ र सबै अन्धकारमा परिवर्तन भयो । अन्त्यमा म मेरो मातृभूमि फर्किएँ मेरो सबै सामानसित। तर मैले सोचेभन्दा थोरै फरक थियो । म फर्किए तर एउटा कालो बाकसमा । न आमालाई अँगालोमा बेर्न पाए न बुबाको उज्यालो हाँसो हेर्न पाएँ ।