आजको युगलाई प्राविधिक युगको नामले चिनिन्छ । हरेक क्षेत्रमा प्रविधिको व्यापक प्रयोग भइरहेको छ, र शिक्षा पनि यसको अपवाद होइन। शिक्षा क्षेत्रमा प्रविधिको प्रयोगले सिकाइ प्रक्रियालाई प्रभावकारी, सरल र सुलभ बनाएको छ । यसले शिक्षक, विद्यार्थी र शिक्षण सस्थाहरूमाझ सूचना प्रवाहलाई सहज बनाउँदै गुणस्तरीय शिक्षा प्रदान गर्न महत्त्वपूर्ण योगदान पुर्याएको छ ।
पहिलेको परम्परागत शिक्षण पद्धतिमा शिक्षकहरू पाठ्यपुस्तकमा आधारित ज्ञान दिन्थे । विद्यार्थीहरू सीमित स्रोतमा निर्भर हुनुपर्थ्यो । जसले ज्ञानको सिमितता ल्याउँथ्यो। तर, आज इन्टरनेट, कम्प्युटर, स्मार्टफोन, र विभिन्न शैक्षिक अनुप्रयोगहरूको विकासले पाठ्यपुस्तकमा सीमित रहेका ज्ञानका स्रोतहरूलाई असीमित बनाइदिएको छ । इन्टरनेटको माध्यमबाट विश्वभरका सामग्रीहरू सजिलै उपलब्ध हुन्छन् । यसले विद्यार्थीहरूलाई स्व-अध्ययनको अवसर प्रदान गरेको छ । प्रविधिको प्रयोगले सिकाइलाई अन्तरक्रियात्मक बनाएको छ । डिजिटल उपकरणहरूजस्तै प्रोजेक्टर, स्मार्ट बोर्ड, र विभिन्न शैक्षिक एपहरूले शिक्षणलाई दृष्य र श्रव्य माध्यमबाट रुचिकर बनाउँछ । जसले गर्दा विद्यार्थीहरूको ध्यानकर्षण बढ्छ र उनीहरूको सिर्जनात्मकतामा पनि विकास हुन्छ । विशेष गरी अनलाइन शिक्षणले विभिन्न समय, स्थान र परिस्थिति अनुसार विद्यार्थीहरूलाई अध्ययनको सुविधा दिएको छ । यसले ग्रामीण क्षेत्रका विद्यार्थीहरूलाई समेत गुणस्तरीय शिक्षा प्राप्त गर्न सहज बनाएको छ।
कोभिड-१९ महामारीको समयमा अनलाइन शिक्षाको महत्त्व अझै बढेर आयो । विश्वभरि विद्यालय, कलेजहरू बन्द हुँदा पनि प्रविधिको सहयोगले विद्यार्थीहरूलाई घरबाटै पढ्न मिल्ने अवस्था आयो । यो प्रविधिको सबैभन्दा महत्त्वपूर्ण योगदानको उदाहरण हो । तर, सिकाइमा प्रविधिको प्रयोगसँगै चुनौतीहरू पनि छन् । सबै विद्यार्थीहरूको पहुँचमा प्रविधि नहुनु, डिजिटल साक्षरता अभाव, र प्रविधिको अति प्रयोगले विद्यार्थीहरूको मानसिक र शारिरीक स्वास्थ्यमा पर्ने असरजस्ता समस्याहरू देखा पर्न सक्छन् । समग्रमा, प्रविधिको उपयोगले सिकाइलाई प्रभावकारी, रोचक, र समावेशी बनाएको छ। प्रविधिलाई जिम्मेवारीपूर्वक र सन्तुलित तरिकाले प्रयोग गर्ने हो भने यो भविष्यमा शिक्षाको क्षेत्रमा परिवर्तनको महत्त्वपूर्ण साधन बन्न सक्नेछ।