underline

समयको महत्व

Underline

Share:

मानव जीवनमा सबैभन्दा अमूल्य वस्तु समय हो । धनसम्पत्ति, मित्रता, प्रतिष्ठा जस्ता कुराहरु हराए पनि हामीले फेरि प्राप्त गर्न सक्छौँ तर बितेको समय हामीले फेरि फिर्ता ल्याउन सक्दैनौँ । त्यसैले भनिन्छ, “समय नै हाम्रो जीवन हो ।” जुन मानिसले समयको मूल्य बुझेको हुँदैन, उसले आफ्नो जीवनको मूल्य वा महत्त्व पनि केही बुझेको हुँदैन । समय प्रकृतिको एक महान् शक्ति हो । समयले कसैको लागि पर्खने वा रोकिने काम गर्दैन । समय निरन्तर रूपमा अघि बढिरहन्छ । त्यसको गति वा त्यसलाई न कसैले रोक्न सक्छ, न कसैले छेक्न सक्छ । बिहान भएपछि बेलुका अवश्य हुन्छ, बाल्यकाल पछि युवावस्था आउँछ, युवावस्था पछि वृद्धावस्था आउँछ । यदि किसानले समयमा नै बिउ रोप्छ र किसानले समयमा नै मेहनत गर्छ भने मात्र किसानले राम्रो अन्न प्राप्त गर्न सक्छ । व्यापारीले समयमा नै योजना बनाउँछ र निर्णय लिन्छ अनि मात्रै व्यापारीले राम्रो लाभ कमाउन सफल हुन्छ । यी सबै उदाहरणहरूले समयको सदुपयोग गर्दा जीवनमा कति ठुलो प्रभाव पर्छ भन्ने कुरालाई स्पष्ट पारेको छ ।

समयको उचित उपयोग गर्ने मानिस जीवनमा सफलता हासिल गर्छ । यो समय विद्यार्थी जीवनमा अत्यन्त महत्वपूर्ण चिज हो । विद्यार्थी जीवनमा समय भनेको एक अमूल्य गहना हो । जुन विद्यार्थीले समयमा मिहिनेत गरेर पढ्छ, आफ्नो गृहकार्य समयमा नै पूरा गर्छ र परीक्षाको लागि पनि पहिलेदेखि नै तयारी गर्छ, उसले परीक्षामा बिगार्ला भन्ने डर हुँदैन । उसले परीक्षामा सधैँ राम्रो नतिजा नै प्राप्त गर्छ । जुन विद्यार्थीले समयको महत्त्व वा मूल्य बुझेको हुँदैन, उसले समय खेर फाल्छ त्यो विद्यार्थीसँग अन्तिम समयमा पछुतोबाहेक अरू केही पनि बाँकी रहँदैन । समयको दुरुपयोग जीवनको सबैभन्दा ठुलो हानी हो । आलस्य, ढिलाइ वा अनियमितताले मानिसलाई असफल नै बनाइरहन्छ । मानिसले आज गर्नुपर्ने कामलाई भोलि भनिरहन्छ त्यो एक असफलताको सङ्केत हो । यदि मानिसले समयलाइ खेर फाल्ने बानी गर्छ भने उसले आत्मविश्वास, अवसर र लक्ष्य जति सबै गुमाउँदै जान्छ । त्यसैले भनिन्छ, “समय भनेको अवसर हो जसले अवसर गुमायो उसले जीवन पनि गुमायो ।”

जति पनि इतिहासमा महान् व्यक्तिहरू छन्, उनीहरू सबैले समयको मूल्य र महत्त्व बुझेका छन् । बुद्ध, आइन्सटाइन र अरू अन्य महान् व्यक्तिहरूले जीवनलाई अनुशासित र समयबद्ध बनाएर नै सफलता हासिल गरेका हुन् । उनीहरूका लागि एक एक क्षण महत्त्वपूर्ण थिए । उनीहरूले समयलाई सही दिशामा प्रयोग गरेका कारणले पनि उनीहरू यस संसारमा अमर बन्न सफल भएका छन् । यो समयको महत्त्व केवल हाम्रो जीवनमा मात्रै होइन । हाम्रो देश वा राष्ट्रको उन्नति र प्रगतिको लागि पनि आवश्यक हुन्छ । यदि कुनै राष्ट्र वा देशको मानिसहरूले समयमा कामहरू गर्छन् र समयमा नै आफ्नो कर्तव्य पूरा गर्छन् । त्यस राष्ट्र वा देशको पनि प्रगति र उन्नति समयमा नै हुँदै जान्छ । त्यो देश वा राष्ट्र विकसित हुँदै जान्छ तर जुन देश, राष्ट्र वा समाजले समयको महत्त्व र मूल्य बुझेको हुँदैन, त्यो देश ,राष्ट्र वा समाज सधैँ अरू समाज, राष्ट्र वा देशको तुलनामा पछि नै रहन्छ ।

समयलाई सम्मान गर्नु भनेको आफ्नै जीवनलाई सम्मान गर्नु हो । हामीले हरेक काम समयमै गर्ने बानी बसाल्नुपर्छ। ढिलाइ र आलस्य त्याग्नुपर्छ र प्रत्येक क्षणलाई सदुपयोग गर्नुपर्छ किनभने बितेको समय फर्किँदैन र समयको सदुपयोग गर्नेले मात्र जीवनमा सफलता शान्ति र सुख प्राप्त गर्न सक्छ । समयको दुरुपयोग गर्नेले कहिल्यै सफलता शान्ति र सुख प्राप्त गर्न सकिँदैन ।

1 reads

Published on 12/18/2025

Image

Arina Shrestha is a student at Deerwalk Sifal School who loves exploring diverse topics. She spends her time reading and listening music.

Arina Shrestha

Grade 9

Roll No: 29061

4

More Articles from

Student

Underline