पुस्तकानुभूति : समयको नक्साबाहिर
लेखक परिचय:
कृष्ण ढुङ्गेल ‘‘मिराज’ उपन्यासबाट साहित्य यात्रा सुरू गरेका साहित्यिक पत्रकार र स्तम्भकार हुन् । उनी ‘साहित्यपोस्ट’का सम्पादक पनि हुन् । छरितो भाषा र भावनात्मक अभिव्यक्तिका लागि चिनिने ढुङ्गेलको पुस्तक ‘समयको नक्साबाहिर’मा बाल्यकाल, किशोरवय र स्कुले जीवनका सम्झनायोग्य घटनाहरू समेटिएका छन् । यो पुस्तक झापा क्षेत्रको पृष्ठभूमिमा आधारित छ । अभाव, डर र साधारण अवस्थाबाट कसरी आत्मबल बढाएर अगाडि बढ्न सकिन्छ भन्ने कुरा यसले देखाउँछ । पुस्तक विशेष गरी युवाका लागि प्रेरणादायी छ र सबैका लागि पढ्नयोग्य पनि छ ।
विषयवस्तु:
यी निबन्धहरू मार्फत उनले बालापनमा भोगेका कठिनाइ, रमाइला पल, पारिवारिक सम्बन्ध, साथीहरूसँगको सम्बन्ध, पढाइ र लेखाइप्रतिको मोह, अनि जीवनमा आउने परिवर्तनहरू प्रस्तुत गरेका छन् । पुस्तकको सुरुवात लेखकको साइकलप्रतिको मोहबाट हुन्छ । गाउँको परिवेशमा साइकल हुनु ठुलो कुरा मानिन्थ्यो । लेखकको दिदीले उनलाई साइकलमा चढाएर घुमाउने घटना सम्झिएको प्रसङ्गले पाठकलाई बालापनको मिठो स्मरण गराउँछ। यसरी साइकल, रेडियो, मोबाइल, टिभी जस्ता वस्तुहरू लेखकका सपनाको हिस्सा थिए । एक निबन्धमा लेखकले लेखनप्रति झुकाव कसरी सुरु भयो भन्ने कुरा उल्लेख गरेका छन् । उनले स्कुलमा शिक्षकले दिएको गृहकार्यलाई आफैँले विस्तार गर्दै कथा र निबन्ध लेख्ने बानी बसाले । यही लेखन बानी नै पछि उनका लागि साहित्यिक यात्राको थालनी बन्यो। उनी स्कुल जाँदा साथीहरूसँगको रमाइलो, शिक्षकहरूको डर, प्रेमपत्र लेख्ने खेल, कक्षा छोडेर भाग्ने जस्ता अनुभवहरू पनि रमाइला ढङ्गमा लेखिएका छन् । पुस्तकमा पारिवारिक सम्बन्ध निकै आत्मीय रूपमा चित्रण गरिएको छ । आमाको बिरामी अवस्था, दिदीको सङ्घर्ष र स्नेह, अनि बुबाको भूमिका सबै गहिरो भावनाले भरिएको छ । आमाको स्वास्थ्यका लागि गरिएको प्रयास, अस्पतालको अनुभव र अन्ततः जीवनमा आउने नसोचेको यथार्थले पाठकको मन छोइदिन्छ । दिदीले लेखकको पढाइमा दिएको साथ, अनि आफ्नो विवाहपछि उनलाई परेको मनोवैज्ञानिक प्रभाव विशेषरूपमा छर्लङ्ग पारिएको छ । लेखकको गाउँप्रतिको माया पुस्तकमा स्पष्टरूपमा देखिन्छ । खोला, खेत, बारी, साँझको बतास, पँधेरो, र गाउँका साथीहरूसँगको सम्बन्धले उनी अझै गाउँसँगै जोडिएका छन् भन्ने देखाउँछ । ग्रामीण जीवनको सरलता र सौन्दर्य उनले शब्दमार्फत जस्ताको तस्तै उतारेका छन् । पुस्तकको भाषा सरल छ तर भावनाले भरिएको छ । हरेक निबन्ध एउटा छुट्टै कथा जस्तो लाग्छ । यसले पाठकलाई आफ्नो बाल्यकाल सम्झाउने मात्र होइन, जीवनमा भएका साना कुराहरू पनि कति महत्त्वपूर्ण हुन्छन् भन्ने महसुस गराउँछ । "समयको नक्साबाहिर" केवल लेखकको जीवनकथा होइन, यो हजारौँ नेपाली युवाको कथा हो, जसले गाउँको माटोबाट सङ्घर्ष गर्दै आफूलाई चिनाएका छन् । पुस्तक सबै उमेर समूहका पाठकका लागि उपयुक्त छ, विशेष गरी तिनीहरूका लागि जो आफ्नै विगत सम्झन चाहन्छन् र जीवनका सामान्य तर महत्त्वपूर्ण पक्षहरूसँग जोडिन चाहन्छन्।
भाषाशैलीः
"समयको नक्साबाहिर" पुस्तकको भाषाशैली सजिलो, आत्मीय र स्पष्ट छ। लेखक कृष्ण ढुङ्गेलले आफ्ना जीवनका अनुभवहरू सरल भाषामा लेखेका छन् । उनले देखेका, भोगेका कुराहरूलाई सहज तर भावुक ढङ्गले प्रस्तुत गरेका छन् । पुस्तकमा सजिलो नेपाली शब्दहरू प्रयोग गरिएकाले सबै उमेरका पाठकले बुझ्न सक्छन् । भावनात्मक तर सरल भाषााशैलीमा लेखिएकाले पाठकले पुस्तक पढ्दा आफ्नो अनुभवजस्तै लाग्छ । लेखकको शैली मन छुने छ, जसले पाठकको मनमा गहिरो प्रभाव पार्छ।
0 reads
Published on 9/16/2025
Arina Shrestha is a student at Deerwalk Sifal School who loves exploring diverse topics. She spends her time reading and listening music.
Arina Shrestha
Grade 9
Roll No: 29061
4