छायाजस्तो प्रेम
समुद्रझैँ गहिरो,
बादलझैँ अँध्यारो,
तिम्रो मायाले मलाई यसरी छोयो
अझै पनि सोचिरहन्छु,
म त्यहाँ कसरी हराएँ ।
आशाहरू थिए,
सपनाहरू थिए,
सबै तिम्रै नाममा सजिएका
तर अन्त्यमा थाहा भयो
मेरो प्रेम गहिरो थियो,
तिम्रो छायाभन्दा पनि गहिरो ।
बुझ्न गाह्रो थियो,
सबै कुरा यति चाँडै कसरी बदलियो ।
तिमी आयौ,
जीवनमा उज्यालो ल्यायौ,
र अँध्यारोमा पनि
तिमी नै उज्यालो जस्तो लाग्यौ ।
म सोचिरहेँ
तिम्रो माया साँच्चै थियो कि
क्षणभरको बादलजस्तो ?
के त्यो आँधीले
तिम्रो मन मबाट लुकायो,
वा हामी सुरुदेखि नै
छुट्टिन लेखिएका थियौँ ?
कहिले त समय
फूल फुलेको बाटोजस्तो लाग्थ्यो,
तिमीसँग बितेका पलहरू
कहिल्यै नसकिने जस्ता थिए ।
तर आज,
पछाडि फर्केर हेर्दा,
तिमी केवल एउटा छायाजस्तो लाग्छौ
देखिन त देखिन्छौ,
अनि छुन खोज्दा
हावामा हराउँछौ ।
तिम्रो सम्झना अझै बाँकी छ,
मनको कुनै कुनामा चुपचाप ।
न कुनै गीत छ,
न कुनै धुन,
तर तिम्रो नाम अझै
मेरो मौनतामा गुञ्जिरहन्छ ।
सायद प्रेम यही रहेछ
कोही टाढा गएपछि पनि
उसको छायाले
मन छोड्न नसक्नु ।
0 reads
Published on 10/8/2026
Aashna Pudasaini is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Aashna Pudasaini
Grade 11
Roll No: 28040
2
More Articles from
Student