प्रविधि
प्रविधि
आजको युग प्रविधिको युग हो। विज्ञान र प्रविधिले मानव जीवनलाई सहज, छिटो र प्रभावकारी बनाएको छ। शिक्षा, स्वास्थ्य, कृषि, व्यापार, सञ्चार, यातायात र सरकारी सेवामा प्रविधिको प्रयोग व्यापक रूपमा भइरहेको छ। प्रविधि मानव जीवनको अभिन्न अङ्ग बनेको छ, केवल विलासिताको साधन मात्र नभएर मानव जीवनको अनिवार्य अङ्ग र अस्तित्वको बलियो आधार बनिसकेको छ। बिहान आँखा खोलेर मोबाइलको स्क्रिन हेरेदेखि राति नसुत्दासम्म हामी प्रत्यक्ष रूपमा प्रविधिको सञ्जालभित्रै घेरिएका हुन्छौँ। प्रविधिले संसारलाई यसरी बाँधिदिएको छ कि याेबिनाको आधुनिक जीवनको परिकल्पना गर्नु पनि असम्भव जस्तै देखिन्छ।
शिक्षाको क्षेत्रमा प्रविधिले ठुलो परिवर्तन ल्याएको छ। पहिले पुस्तक र कक्षाकोठामा मात्र सीमित शिक्षा अहिले इन्टरनेट, कम्प्युटर र मोबाइलमार्फत जहाँसुकैबाट प्राप्त गर्न सकिन्छ। विद्यार्थीहरूले अनलाइन कक्षा लिन, अध्ययन सामग्री डाउनलोड गर्न तथा विश्वका प्रतिष्ठित शैक्षिक संस्थाका पाठहरू अध्ययन गर्न सक्छन्। यसले सिकाइलाई अझ प्रभावकारी बनाएको छ।
स्वास्थ्य क्षेत्रमा पनि प्रविधिको महत्त्वपूर्ण योगदान रहेको छ। आधुनिक उपकरणहरूको प्रयोगबाट रोगको पहिचान छिटो र सही रूपमा गर्न सकिन्छ । टेलिमेडिसिन सेवाका कारण दुर्गम स्थानका बिरामीले पनि विशेषज्ञ चिकित्सकसँग परामर्श लिन सक्ने भएका छन्। नयाँ औषधि, शल्यक्रिया प्रविधि तथा अनुसन्धानले मानिसको आयु र जीवनस्तर सुधार गर्न सहयोग पुर्याएको छ। खोप र नयाँ औषधिको विकासमा आधुनिक प्रविधिको ठुलो योगदान छ। अस्पतालमा बिरामीको विवरण डिजिटल रूपमा राख्ने प्रणालीले सेवा छिटो र व्यवस्थित बनाएको छ।
कृषि क्षेत्रमा आधुनिक मेसिन, उन्नत बीउ, सिँचाइ प्रणाली तथा मौसमसम्बन्धी जानकारीले उत्पादन वृद्धि गर्न मद्दत गरेको छ। व्यापार र उद्योगमा डिजिटल भुक्तानी, अनलाइन किनमेल तथा स्वचालित प्रणालीको प्रयोगले समय र खर्च दुवै बचाएको छ। सरकारी सेवाहरू पनि क्रमशः डिजिटल बन्दै गएका छन्, जसले नागरिकलाई छिटो र पारदर्शी सेवा प्राप्त गर्न सहयोग गरेको छ। ड्रोनको प्रयोगबाट बालीको अवस्था निरीक्षण र विषादी छर्कन सजिलो भएको छ। अनलाइन बजारमार्फत किसानले आफ्ना उत्पादन प्रत्यक्ष रूपमा बिक्री गर्न सक्ने भएका छन्।
नेपालमा पनि पछिल्ला वर्षहरूमा प्रविधिको विकास तीव्र रूपमा भइरहेको छ । अनलाइन बैंकिङ, डिजिटल वालेट, अनलाइन शिक्षा तथा सूचना प्रविधिमा आधारित सेवाहरू विस्तार हुँदै गएका छन् तर अझै पनि ग्रामीण क्षेत्रमा इन्टरनेटको पहुँच, गुणस्तरीय पूर्वाधार र प्राविधिक जनशक्तिको अभाव चुनौतीका रूपमा रहेका छन्। यी समस्याको समाधान गर्दै प्रविधिलाई सबै नागरिकको पहुँचमा पुर्याउन आवश्यक छ।
एक सिक्काका दुई पाटा भए झैँ प्रविधिको यो उज्यालो पाटोका पछाडि केही अँध्यारा चुनौतीहरू पनि लुकेका छन्। प्रविधिको अत्यधिक र अविवेकी प्रयोगले समाजमा नयाँ र जटिल किसिमका समस्याहरू जन्माएका छन् । साइबर अपराध, डाटा चोरी, अनलाइन ठगी र सामाजिक सञ्जालमार्फत फैलाइने अफवाह एवं घृणा आजको विश्वकै लागि ठुलो सुरक्षा चुनौती बनेको छ। यसको अर्को गम्भीर असर मानव स्वास्थ्य र सामाजिक संरचनामा परेको देखिन्छ। स्क्रिनमा धेरै समय बिताउनाले मानिसहरूमा आँखाको समस्या, अनिन्द्रा, शारीरिक निष्क्रियता र मानसिक तनाव बढ्दै गएका छन्। आफ्नै परिवारसँग कुरा गर्ने फुर्सद हुँदैन, जसले गर्दा हाम्रा सामाजिक मूल्यमान्यता र व्यावहारिक सम्बन्धहरू कमजोर बन्दै गएका छन्।
अन्त्यमा, प्रविधि आफैँमा राम्रो वा नराम्रो हुँदैन, यसको प्रभाव हामीले कसरी प्रयोग गर्छौँ भन्ने कुरामा निर्भर हुन्छ। यदि प्रविधिलाई ज्ञान, अनुशासन र जिम्मेवारीका साथ प्रयोग गरियो भने यसले समाज, राष्ट्र र सम्पूर्ण मानव जातिको समृद्धिमा ठुलो योगदान पुर्याउन सक्छ। त्यसैले प्रविधिको सदुपयोग गर्दै यसको नकारात्मक प्रभावलाई कम गर्नु आजको समयको प्रमुख आवश्यकता हो।
1 reads
Published on 8/3/2026
Sebastian Tiwari is a student at Deerwalk Sifal School who loves exploring diverse topics.
Sebastian Tiwari
Grade 11
Roll No: 28079
1