नयाँ समाजको परिकल्पना
सामान्य रूपमा समाज भन्नाले मानिसको समूहलाई बुझिन्छ तर त्यति मात्र नभएर समाज भनेको भिन्न सोच, विचार तथा भिन्नै व्यवहार भएका मानिसहरूको घर हो। यिनै विचारको भिन्नताले नै समाजमा राम्रा तथा नराम्रा पक्षहरूको उत्पत्ति गराउँछ। मानिस सामाजिक प्राणी भएकोले उसलाई बाँच्नको लागि समाज चाहिन्छ, उसले आफ्ना आवश्यकताहरू समाजबाटै परिपूर्ति गर्छ। मानिसका तिनै आवश्यकताभित्र परम्परा र संस्कृतिहरू पनि पर्छन्।
वर्तमान समय प्रविधिको समय हो। हाम्रो समाजले आफ्नो सुरुवाती अवस्थाबाट धेरै फड्को मारेर एउटा नयाँ समाजको रूप लिइसकेको छ। हाम्रो समाजमा भिन्न भिन्न भाषा, जातजाति, धर्मका मानिसहरूको बसोबास छ। जसकारण भिन्न भिन्न संस्कृतिहरू पनि छन्। यिनै संस्कृतिको साथ मानवजीवन अघि बढिरहेको छ। हाम्रो संस्कृति मुख्यतया हाम्रा पुर्खाहरूबाट हस्तान्तरण हुँदै आएका छन्। जसले हाम्रो परम्परालाई झल्काउँछन् तर नयाँ युगसँगै नयाँ संस्कृतिको जन्म भएको छ जसले आफू सँगसँगैका विकृतिहरूको पनि उदय गराएको छ।
म नेपाली समाजमा बस्छु। मलाई मेरो नेपाली संस्कृति र परम्परा अति प्रिय छ। अहिलेको सन्दर्भमा हेर्ने हो भने मसँगैका मेरा साथीहरू तथा युवावर्गहरू भने हाम्रा यी संस्कृतिबाट टाढिँदै विदेशी संस्कृतिलाई अपनाउदै गइरहेका छन्। नेपाली संस्कृति नै हामी नेपालीको पहिचान हो । त्यसैले म चाहन्छु जसरी हाम्रा पुर्खाहरूबाट धेरै अगाडिदेखि हाम्रा संस्कृतिहरू अघि बढ्दै आइरहेका छन्, त्यसरी नै भोलिका दिनहरूमा पनि हाम्रा यिनै सुन्दर संस्कृतिका साथै आफ्नो विशेषता कायम गरिरहन पाऊन्। समयसँगै परिवर्तन त भइरहन्छन् । विदेशी संस्कृतिलाई केही हदसम्म स्वीकार्नुमा कुनै आपत्ति हुँदैन। विदेशी संस्कृतिको पनि आफ्नै विशेषता छन्। ती संस्कृतिले हामीलाई मनोरञ्जन पनि प्रदान गरेका छन् । त्यसैले मैले कल्पना गरे अनुसार मेरो समाजमा परिवर्तन होस् तर हाम्रा परम्पराहरूको लोप नभइकन विश्वका अरू विभिन्न संस्कृतिसँगै अघि बढ्दै मेरो समाज एउटा नयाँ तर सुन्दर समाज नै बनिरहोस्।
केवल विदेशी संस्कृति मात्र होइन हाम्रा परम्परागत संस्कृति पनि विकृतिको रुपमा देखिएका छन्। जसले नेपाली समाजको सुन्दरता र शान्तिलाई भङ्ग गरिदिएको छ। निकै पहिलेदेखि चलिआएको छाउपडी प्रथा, लैङ्गिक तथा जातीय विभेद जुनको छत्रछायाबाट मेरो समाज अझै निस्किसकेको छैन। म सधैँ यही सोचिरहन्छु कि कहिले मेरो समाज एउटा विकृतिरहित समाज होला, कहिले मेरो समाजको हरेक मानिसको मनमस्तिष्कबाट यो विभेदको भावना हट्ला र एकताको सूत्रबाट नयाँ र शुद्ध विचार, धारणाको साथ नयाँ समाजको निर्माणतर्फ अघि बढ्ला।
मेरो समाजको मुहार फेर्नका लागि यतिमात्रै नभएर नयाँ युग सँगसँगै आएको विसङ्गतिहरू विरुद्ध पनि लड्न आवश्यक छ। कलियुगको परिचय दिँदै लागुपदार्थको प्रयोग जस्ता अवैध गतिविधिले पनि मेरो समाजलाई खोक्रो बनाई रहेको छ। विशेष गरी युवा वर्गमा फैलिएको यो विसङ्गतिले समाजको भविष्यलाई अन्धकारतर्फ डोर्याउदै छ। जसकारण म चाहन्छु अबका युवाहरूको कदम यस अन्धकार तर्फ नलागोस् , यो विसङ्गतिले व्याप्त युवाहरूलाई पनि यसबाट पछि हट्ने चेत र जागर आओस्। यिनै युवाहरूको असल सोच र क्रान्तिकारी हातबाट निर्मित नयाँ र सभ्य समाजकाे स्वरुप हेर्न म आतुर छु।
त्यसैगरी मैले अगाडि उल्लेख गरे झैँ यो युग प्रविधिको युग हो। प्रविधिले मानव जीवनमा निकै महत्वपूर्ण भूमिका खेलिरहेको छ। हाल पूरा विश्व नै प्रविधिको गतिसँगै दौँडिरहेको छ। प्रविधि साच्चिकै अद्भुत छ।म चाहन्छु मेरो समाज पनि यो प्रविधि र विकासको दौडानमा सँगसँगै लाग्न सकोस्। यसको लागि हाम्रो समाजको भविष्यको रुपमा रहेको युवाहरूले नै आफ्नो जागर र बौद्धिक क्षमता पोख्न जरुरी छ। साथै जुनसुकै विकासको लागि समाजको हरेक सदस्यले साथ र हात बढाउन आवश्यक छ। म पनि मेरो समाजको भविष्य हुँ र यसका लागि म पनि योगदान दिन चाहन्छु। मेरो समाजको मुहार फेर्न पनि अग्रसर हुन चाहन्छु।
यसरी विकासको गति अघि बढाउदै, समाजका विकृति, विसङ्गतिहरू हटाइ हाम्रो आफ्नै मौलिक संस्कृतिमा रमाएको एक नयाँ, सुन्दर र सभ्य समाजको परिकल्पनामा म डुबिरहेकी छु।
4 reads
Published on 2/6/2026
Sonu Shrestha is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Sonu Shrestha
Grade 11
Roll No: 27095
1