नथाक्ने चाहना
नथाक्ने चाहना
सबैको जीवन एउटा फिल्मजस्तो हुन्छ। कसैकसैको जीवन रमाइलो र सजिलो हुन्छ भने त्यही उमेरका अरूको जीवन हेर्दा सोचेझैँ हुँदैन तर समीरको जीवन धेरै नै कठिन थियो। उसलाई चिन्ने सबैले ऊ र उसको परिवारप्रति दया र माया देखाउँथे। तर उसलाई अरूले उसकाे दुःख देखेर दया देखाएको मन पर्दैनथ्यो। उसको बाल्यकाल अरू बालबालिकाको जस्तो थिएन। बाल्यकालमै उसले कुनै ठुलो सपना बोकेको थिएन। समयसँगै सपना जन्मिएको थियो , जब दुःख बुझिन्छ, आफ्नो जिम्मेवारी आफैँ थाहा हुन्छ र पूरा गर्नुपर्छ भन्ने चेत आउँछ। जिम्मेवारी उमेरभन्दा छिटो उसको काँधमा आइपरेको थियो।
समीर कक्षा ११ मा पढ्ने साधारण विद्यार्थी थियो। बिहान चार बज्नुअघि नै उसका आँखा खुल्थे। राखिएको अलार्मको आवाजभन्दा पहिले आमाको खोकी सुनिन्थ्यो। त्यो खोकी उसको दैनिकीको अलार्मझैँ भइसकेको थियो। त्यही खोकीले उसको दिनको सुरुवात हुन्थ्यो। ऊ ओछ्यानबाट उठ्थ्यो र सिधै भान्सातिर जान्थ्यो । सुरुमा पानी तताउन, आमालाई औषधी दिन अनि गोठमा बाँधिएका गाईलाई घाँस हाल्न। पहिले यी सबै काम उसकी आमाले गर्थिन्, तर अलि बिरामी भएपछि यी जिम्मेवारी उसले आफ्नो दैनिकीका रूपमा स्वीकारिसकेको थियो। उसलाई बानी परिसकेको थियो।
उसको बुबा दुई वर्षअघि रोजगारीका लागि विदेश गएका थिए। कहिलेकाहीँ फोन आउँथ्यो, कहिलेकाहीँ पैसा तर घरको वास्तविक भारी भने समीरकै काँधमा थियो। पढाइ, घर, आमा सबै उसकै भरमा थिए। सुरुसुरुमा यी सबै जिम्मेवारी उसको लागि गाह्रो थियो, तर अहिले गाह्रो भए पनि बानी परिसकेको थियो।
स्कुल जानुअघि ऊ कहिलेकाहीँ आफूलाई आफैँ प्रश्न गर्थ्यो, “यति दुःख गरेर पनि म किन पढिरहेको छु?” मनभित्रैबाट जवाफ आउँथ्यो र आफैँलाई उत्तर दिन्थ्यो, “किनकि यही बाटोले मात्र यहाँबाट बाहिर निस्कन सकिन्छ र आमालाई राम्रो हेरविचार गर्न सकिन्छ।”
ऊ विद्यालय गए पनि उसलाई खासै कसैले चिन्दैनथ्यो। ऊ आफ्नै संसारमा हुन्थ्यो। न त अगाडिको बेन्चमा बसेर बारम्बार प्रश्न सोध्थ्यो, न त पछाडिबाट साथीहरूसँग हाँसोठट्टा गर्थ्यो। ऊ कक्षाको बिचमै कतै हराइरहन्थ्यो, आफ्नै जीवनका चिन्ता र सोचको संसारमा।
कक्षा ११ उसले कल्पना गरेभन्दा धेरै कठिन रहेछ। आफूले जोड नदिएसम्म उसले सक्दैन भन्ने सोचिरहन्थ्यो। उसका विषयहरू गहिरा थिए, बुझ्न समय लाग्थ्यो। धेरै विद्यार्थी ट्युसन जान्थे, नोट्स साट्थे, मोबाइलमा पढाइसम्बन्धी भिडियो हेर्थे। सागरसँग तीमध्ये केही पनि थिएनन्। ऊ शिक्षकको कुरा ध्यान दिएर सुन्थ्यो तर सबै कुरा तुरुन्तै दिमागमा बस्दैनथ्यो।
कहिलेकाहीँ साथीहरू हाँस्दै जिस्काउँदै भन्थे, “यत्रो दुःख गरेर पढेर के हुन्छ र?” सागर पनि मुस्कुराउँथ्यो, तर त्यो मुस्कान केवल बाहिरको हुन्थ्यो। भित्र कतै डर लुकेको हुन्थ्यो, आफूले समय खेर फालिरहेको त छैन भन्ने प्रश्न मनमा आइरहन्थ्यो अनि साथीहरूको कुरा सम्झिँदै सोच्थ्यो, “सायद उनीहरू ठिक त होइनन्?”
स्कुलपछि ऊ सिधै काममा लाग्थ्यो । कहिले कसैको खेतमा मजदुरी, कहिले गाउँको सानो पसलमा भारी बोक्ने। जे काम पायो, त्यही गर्थ्यो। बेलुका घर फर्कँदा शरीर थाकिसकेको हुन्थ्यो, तर दिनका काम सकिएका हुँदैनथे। खाना बनाउनु, आमालाई खुवाउनु र सुताउनु, भाँडा माझेपछि मात्र ऊ किताब खोल्थ्यो।
ऊ मट्टीतेलको बत्ती बाल्थ्यो। त्यो बत्ती धेरै उज्यालो थिएन, तर स्थिर थियो । ठिक सागरको चलिरहेको जीवनझैँ, कमजोर देखिने तर ननिभ्ने। धेरैपटक किताब हेर्दै गर्दा उसका आँखा आफैँ बन्द हुन्थे। टाउको भारी हुन्थ्यो, शरीर भने पूरै गलिसकेको हुन्थ्यो। त्यस्तो बेला ऊ अरूसँग होइन, केवल आफैँसँग झर्किन्थ्यो, “यति मेहनत गर्दा पनि किन बुझ्दिनँ?”
एक रात ऊ पढ्दै गर्दा आमाले सानो स्वरमा भनिन्, “छोरा, अब थकाइ मार। पढाइ छोडेर काम गरे पनि हुन्छ।” आमाको त्यो कुरा थकान र मायाबाट आएको थियो भन्ने सागरलाई थाहा थियो, तर उसले स्वीकार्न सकेन। उसले शान्त स्वरमा भन्यो, “आमा, म थाक्छु होला, तर प्रयास गर्न छोड्दिनँ।”
त्यो रात डर, आशा र जिम्मेवारीका विचारले उसलाई सुत्न दिएनन्। आमालाई दिएको जवाफ उसको मन र मस्तिष्कमा घुमिरह्यो। परीक्षा नजिकिँदै जाँदा तनाव बढ्यो, असफलताको डर पनि आयो। तर ऊ आफैँलाई सम्झाउँथ्यो, बिच बाटोमा प्रयास छोड्नु गलत हो।
कक्षामा गाह्रो प्रश्न आउँदा पनि ऊ चुप बसेन। उत्तर अपूर्ण भए पनि प्रयास देखेर शिक्षकको एक वाक्यले उसलाई ठुलो हौसला दियो। परीक्षा जति नजिक आयो, ऊ त्यति डराइरहेको थियो तर परीक्षाको दिन डराए पनि ऊ भागेन। इमानदारीका साथ उत्तर लेख्यो। जब परीक्षाको नतिजामा आफ्नो नाम राम्रो अङ्कसहित देख्यो, उसका आँखाबाट आँसु झरे।
घर फर्केर आमालाई नतिजा देखाउँदा आमाले केही नबोली उसको निधार सुम्सुम्याइन्। “अरूले विश्वास नगरे पनि, आफूले आफूमाथि विश्वास गर्नु नै सबैभन्दा ठुलो कुरा हो ।” आज उसले आफूमाथि त्यो विश्वास जितेको थियो।
3 reads
Published on 2/17/2026
Sonu Syangtan is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Sonu Syangtan
Grade 11
Roll No: 27013
1