परिवारसँगको अविस्मरणीय तिज यात्रा
२०८३ भदौ २७ गते म मेरो परिवारसँग तिज मनाउन गाउँ जान लागेको थिए । हामीसँग सिर्जना दिदी पनि जान लाग्नुभएको थियो। हामी गाउँ जाने दिनको अघिल्लो दिन देखि नै झाेलामा सामान तयार गरी सकेका थियौँ । भोलिपल्ट शुक्रबार स्कुलमा सधैँ हुने बिहानी प्रार्थना थियो । पिता औंशीका कारण त्यो बिहानी प्रार्थना अरू दिनभन्दा लामो भएको थियो । बिहानी प्रार्थनापछि हाम्रो दोस्रो कक्षा सुरु भयो।
त्यही दिन हाम्राे पाेखरा स्कुल र भरतपुर स्कुलबिच फुटबल फ्रेन्डली म्याच थियो । हाम्राे प्रार्थना भएकै समयमा भरतपुरको टिम पोखरा स्कुलमा आइपुगिसकेका थिए। म्याच खाना खाएपछि हुने निर्णय भयो । खाना खाएर भ्याउने बेलासम्म म्याच सुरु हुन ५ मिनेट बाँकी थियो । म हतार हतार लुगा लगाएर मैदानमा खेल्न निस्किएँ । अन्त्यमा हामी आठ दुईले विजयी भयौँ । केटीको टिमबाट पनि पोखरा स्कुल नै ३ जिरोले विजयी भयो । खेलपछि मैले लुगा फेरेँ । सदाकाे शुक्रबारझैँ त्यो दिन पनि खाजा म:म थियो । घर जाने भए पनि मःम चाहिँ खाएर जाने याेजना थियाे मेराे । खेल सकिएकाे केही बेरमै मैले र भाइले तात्तातो मःम खायाैँ । छिटाे छिटाे मःम खाएर हामी घर आयाैँ ।
घर आएकाे केही बेरमै सागर दाइ हामीलाई लिन आइपुग्नुभयाे । हतार भएकाले मैले गृहकार्य भएको किताब कापी लान पनि बिर्सिएँ । त्यो दिन औंसी भएकाले होला गाडी निकै प्याक थियो । म कोच्चिइ कोच्चिइ दाइसित ड्राइभर सिटमा बसेर गएँ । बराैटाबाट सानिमा र भाइ बहिनी पनि इ भी मा चढ्नुभयाे । हामी सबै मिलेर गाउँतिर लाग्याैँ । मलाई खोलाहरू निकै मन पर्छ। सधैंझैँ जाँदै गर्दा बाटोमा मैले धेरै खोलाहरु देखेँ । बाडखोला, अरौदीखोला,आँधीखोला आदि । हामी अर्जुन चौपारी प्रवेश गरेपछि दरौँ खोला देख्याैँ । गाडीले हामीलाई सरासर रैते (मामाघर) पुर्याइदियाे । त्यतिबेला साँझकाे ६ बजिसकेकाे थियो । हजुरआमाहरूले खाना पकाइसक्नुभएको रहेछ । मलाई रोटी मन पर्छ भनेर रोटी बनाएर राख्नुभएको रहेछ । अरु दिन मैले सात आठ वटा रोटी खान्थेँ तर त्यो दिनमा अरु खाजा खाएर अघाएकाले चारवटा मात्र रोटी खाएर सुतेँ ।
अर्को दिन हामी नवग्रह मन्दिरतर्फ लाग्यौँ । हामी जङ्गलको बाटोबाट गयाैँ । त्यो बाटोमा मलाई डुबाउने जति घाँस थियो । घाँसले मलाई खुट्टा खुट्टामा पासेको थियो । बल्ल तल्ल गरेर हामी मन्दिर पुग्याैँ । एकछिन डुल्याैँ, मन्दिरमा दर्शन गर्याैँ । निकै सुन्दर छ नवग्रह मन्दिर । याे नेपालकै पहिलाे नवग्रह मन्दिर हाे । यहाँ विभिन्न ठाउँबाट दर्शनार्थीहरु आउने गर्छन् । केहीबेर घुमेपछि घर फर्कियौँ । घर फर्किदा भने भाइ र म आफन्तहरूका साथमा अटाेमा चढेर फर्क्याैँ । आमाहरू भने बिहान आएकै बाटाे जानुभयाे ।
घर पुगेपछि खाना खायौँ र छापा (घर) तिर लाग्यौँ । बाटोमा हिँड्दै गर्दा मैले मेरी आमालाई छोटो बाटो जाऊँ भनेको थिएँ तर आमाले मान्नुभएन । भाइ र आमा मोटर बाटाेबाट जानुभयाे । म भने खेतखेतकाे बाटाे गएँ । तल बगरमा एउटा सुन्दर पार्क पनि छ म्याथम्यटिकल पार्क । म पार्कनेर पुग्नै लाग्दा मैले एउटा सर्प देखेँ । मैले आमालाई सर्प देखेको कुरा बताउनै लागेको थिएँ । त्यहीबेला मेरो भाइ परीक्षितले आशु दादा हामीले साँप देख्यौ नि भनेर मलाई नै पहिला सुनायो । त्यो कुरा सुनेपछि म चकित परेँ । भाइलाई र मलाई निकै डर लागेको थियाे । हामी झाडी भएको ठाउँमा हिँड्न पनि छोडिसकेका थियाैँ तर बजारसम्म पुग्दा हामीले त्यो कुरा भुलिसकेका थियाैँ । बजारमा एकछिन बसेपछि बुटवलदेखि आउने गाडी आइपुग्यो । हामी त्यही गाडीमा चढेर गाउँ गयौँ। गाउँ पुगेपछि भाइ र मैले धेरै मज्जा गर्याैँ । आँगनमा पलाएका झारहरु उखेल्दै दिन गयो। त्याे दिन हामी घरमै बस्याैँ ।
भाेलिपल्ट दर खाने दिनमा हामी फेरि मामा घर फर्कियाैँ । हामीले एउटा जिप भेट्याै । त्यो जिप प्याक भएपनि हामी त्यसमै कोचिएर गयाैँ । जिपले हामीलाई अर्जुन चौपारीभन्दा तलको पुलसम्म छोडिदियो । आमाले मलाई एकछिन त्यही पुलनेर छोडेर तिमी झोला हेर्दै गर म सामान किनेर आउँछु भनेर जानुभयो । भाइ पनि आमाको पछि लाग्यो । म झोला कुरेर बसिरहेको थिए। त्यति नै बेला मैले फेरि एउटा ठूलो सर्प देखेँ । म यति डराएँ कि मेरो मुटु नै बाहिर निस्केला जस्तो भएको थियो। त्यही बेला एकजना अङ्कलले आएर सर्पलाई धपाइदिनु भयो ।आमा र भाइ आएपछि मैले सबै कुरा भनेँ । हामीले यसअघि प्रत्यक्ष रुपमा सर्प देखेका थिएनाैँ । गर्मी बढी भएकाले हाेला सायद यस पटक यति धेरै सर्प देखिएका, आमाले हामीलाई यही कुरा बताउनुभयाे । हामी त्यसै सम्बन्धित कुरा गर्दै मामाघरतिर फर्कियाैँ ।
त्यो दिन दर खाने दिन थियो । हामी घर पुग्दा खान तयार भइसकेको रहेछ। हामीले खाना खायाैँ । त्यसपछि आमाहरु दिउँसोको दरका लागि तयारी गर्न थाल्नुभयो । दरमा धेरै परिकारका खानेकुरा तयार भए । त्यतिबेलासम्म दिउँसोको ३ बजिसकेको थियो सिर्जना दिदी लगायत हामी सबै परिवार मिलेर दर खायाैँ । त्यो पल निकै रमाइलो थियो । आमाहरुले फेरि बेलुका खिर खाने कुरा गर्नुभयो । म अचम्म परिरहेको थिएँ । भाइ पनि रमाइरहेको थियो। तल घरमा पनि मेरी सानीमा र भाइबहिनी आएका थिए । हामी सबै घुम्न पनि गयाैँ ।
अर्को दिन तिज । आमाहरू ब्रत बस्ने भनेर नुहाईधुहाई गरिसक्नुभएको थियो। उहाँहरुले राता साडी अनि टीका चुराहरु लगाएर चिटिक्क पर्नुभएकाे थियो । हजुरआआमाले हाम्रा लागि (हजुरबुवाबुवा,म र भाइ) खाना बनाइसक्नुभएकाे थियाे । हामीले खाना खायाैँ । आमाहरू भाेकै व्रत बस्नुभयाे । उहाँहरूले फाेटाहरू पनि खिच्नु भयाे । त्यसै दिन हामी पोखरा फर्कने दिन पनि थियो । दिउसाे २ बजेतिर हामी पोखरा फर्कियाैँ । निकै रमाइलाे र सम्झन लायक भयाे यसपालीकाे तिज ।
10 reads
Published on 10/6/2026
Aashutosh Kafle is an active and fun-loving student at Deerwalk Pokhara School. Passionate about playing football and exploring new places through travel, he enthusiastically participates in all school activities.
Aashutosh Kafle
Grade 6
Roll No: 33009
Deerwalk Pokhara School
1