underline

जीवन

Underline

Share:

जीवन

जन्म र मृत्युको बिचमा

उभिएको त्यो अनौठो जीवन

आकाशको विशालता

धर्तीको धैर्य

प्रकृतिको पराक्रम

केही पाउनुसँग धेरै छुट्छ जीवन

फर्केर फेरि आउँदैन आयु

गनेर सायद ल्याएका छौँ वायु

ओहो सृष्टिको शिलामा

दुःख बग्दैछ, सुख सुक्दैछ

कस्तो छ है संसारको चलन

एक दृष्टान्त - हो एक दृष्टान्त

मानव चोला र प्रतिबिम्बित ऐना

सोध्छ आफूलाई के म मान्छे नै हैन ?

समयलाई लछार्दै, ममतालाई पछार्दै

जब उ आफूलाई नै प्रश्न गर्छ

उसले त्यो ऐना अगाडि हेर्छ

हेर्छ र देख्छ, त्यो निराशवादी आश

हेछ र देख्छ, त्यो भयावह त्रास

हेर्छ र देख्छ, समय चक्रको मास

अनि

देख्छ र फेर्छ, त्यो अत्यासलाग्दो सास

एउटा सुन्दर मुस्कान र त्यो हसिलो तन

बाहिर हाँसोको मिलन भित्र पीडाको स्पन्दन

कस्तो अनौठो रहेछ है मानव हुनुको बन्धन

अनि फेरि सोध्छ के जीवन सोच्चै यत्ति नै हो ?

आँसु र हाँसोको अन्तहीन एउटा प्रवाह ?

तर कथा

त्यही कहाँ सकिँदो रहेछ र

रात जतिसुकै गहिरो भएपनि

क्षितिजको कुनाबाट बिहानी चिहाइरहदो रहेछ

एक दिन

त्यही ऐना अगाडि उंभिदा

उसले फेरि आफूलाई देख्यो

यसपटक आँखामा त्रास थिएन

ओठमा बनावटी हाँसो थिएन

थियो त केवल

समयले नचोरेका केही सपना

परिस्थितिले नमारेका केही विश्वास

र थाक्दाथाक्दै पनि बाच्छु भन्ने एउटा मौन अठोट

हिजोका घाउहरू

अझै थिए

अझै थिए

टुटेका सपनाका टुक्रा

तर उसले तीनै टुक्राहरूबाट बुन्न थाल्यो फेरि सपना

हावाले फेरी उसको अनुहार छोयो

घामले फेरी उसको छाला छोयो

र धेरै समयपछि मुहारमा मिठो मुस्कान फुल्यो

आकाश उही थियो

धरती उही थियो

बाटो उही थियो

तर हेर्ने अँखाहरु अलि फेरिएका थिए

हिजो जहाँ अन्धकार थियो

थियो आज त्यहाँ एउटा तारा

हिजो जहाँ अन्त्य थियो

थियो आज त्यहीँ एउटा बाटो

र ऊ हिँडिर‌‌ह्यो

न हिजोलाई बिर्सेर

न भोलिको डर बोकेर

आजको घामलाई मुटुभरि लिएर

पछाडि छुटेका पाइला धुलोसँग हराउँदै गए

अगाडि बढेका पाइला बाटो बन्दै गए

क्षितिजमा घामको उज्यालो फैलिदै थियो

हावामा एउटा मधुरो गीत गुन्जिदै थियो

र त्यही उज्यालोमा

उसले फेरि ऐना हेर्यो,

यसपटक ऐनामा केवल अनुहार थिएन

थियो त अझै बाँकी एउटा सपना

अझै बांकी एउटा बिहान

अझै बाँकी एउटा मुस्कान

र अधुरो यात्राबिच पनि बाँकी एउटा आशा

सायद जीवन उत्तर खोज्नुमा होइन,

प्रश्नसँगै अघि बढ्न सक्नुमा रहेछ

सायद ऐनाले अनुहारभन्दा बढी,

मान्छेलाई आफूसँगकै दूरी देखाउँदो रहेछ ।

धन्यवाद !

-संस्कृति पाण्डे

3 reads

Published on 9/28/2026

Image

संस्कृति पाण्डे कक्षा १२की अत्यन्तै मेहनती छात्रा हुन्। उनी लेख्न पढ्न तथा साहित्यिक कृति रचना गर्न र रचनावाचन गर्न अत्यन्तै मन पराउँछिन्। गम्भीर स्वभावकी एकान्तप्रिय र लगनशील विद्यार्थीमा उनी चिनिन्छिन् । सुमधुर स्वरमा कविता वाचन गर्नु उनको विशेषता हो। उनी भविष्यकी एक अत्यन्तै आशालाग्दी कवयत्रीका रूपमा उदाउँदै गरेकी प्रतिभा हुन्।

sanskriti Pandey

Grade 12

Roll No: 271011

Deerwalk Dhading School

1