सपनाको संसार
बिहानीको घामको सुनौलो किरणसँगै मैले आफ्नो घरको आँगनमा पाइला टेकेँ । आज कताकता सबै अनौठो महसुस भइरहेको थियो। मलाई त्यो सानो झुपडी आज महल जस्तै लागिरहेको थियो करिब एक दशकपछि आफ्नो जन्मभूमिमा पाइला चाल्न पाउँदा मलाई स्वर्गको अनुभूति भइरहेको थियो। ती बुढी आमाको हँसिलो अनुहार अनि वरपरको शान्त वातावरण मलाई नौलो लागिरहेको थियो। घरको पल्लोपट्टि रहेको त्यो नाङ्गोपाखामा आज घना जङ्गल देखा पर्याे। सोचेँ गाउँलेले रुख रोपेछन् क्यारे !दिउँसोतिर घरबाट बाहिर पाइला चाल्दै थिए, परतिर सङ्गीतको मधुर धुन सुनेँ । अचम्म लाग्यो । मन अनेकौँ प्रश्नहरूले जागृत हुन थाल्याे ।
म त्यतैतिर लागे। सबै बाटा सफा देखिन्थे। ती फोहोरले भरिएका खाली ठाउँमा समेत रङ्गीचङ्गी फूलहरू फुलेका थिए। ती फूलहरूमा भँमरा र माहुरीको हुल देखिन्थ्यो। मानौँ त्यहाँ कुनै मेला लागिरहेको छ। हिँड्दै थिए, मैले सडकका पेटीमा भोका र नाङ्गा बच्चा पनि देखिनँ । पछि थाहा पाएँ, आजकल जति बच्चालाई त सरकारले पढ्ने खाने र बस्ने व्यवस्था मिलाइदिएको रहेछ ।वरपर हेरेँ, त्यो मधुर आवाज मबाट अलि टाढा हुँदै थिए । मैले अझ छिटो पाइला चालेँ। "संविधानले हाम्रो देशमा शान्ति ल्यायो।" चौतारामा बसेर बुढापाखाहरू गफ गर्दै थिए। ठुलाठुला साइन बोर्डहरू ठुलाठुला घरमा टाँसिएका थिए ।ती साइन बोर्डमा लेखिएका शब्द देखेर सोचेँ ,सायद मेरी सानी झैँ अकालमा कसैको ज्यान जाँदैन होला। मेरो अगाडिबाट सानासाना विद्यार्थीहरू विद्यालय गइरहेको दृश्य देखियो। खुसी लाग्यो छोरीलाई पनि स्कुल पठाउन थालेछन् भनी ।
सयौँ दूरी टाढा सुनिने त्यो स्वर बिस्तारै आफूतिर नजिकिँदै आइरहेको महसुस भयो। बाटामुनि सधैँ रक्सी बेच्ने भट्टी भएको मलाई अझ पनि याद थियो तर आज अचम्म लाग्यो त्यहाँ त रक्सी होइन किताब कापी बेच्न राखिएको थियो । अचानक त्यो मिठो ध्वनि एक कडा अनि बेसुर स्वरमा परिणत भयो। यस्तो लागिरहेको थियो मानौँ बम नै पड्केको थियो। अचानक मन भारी भयो। त्यो डरलाग्दो आवाज मेरो कानमा नराम्रोसँग गुञ्जिन थाल्यो। दुवै हातले दुवै कानलाई छोपेँ। अनि अकस्मात मेरो आँखा खुले। म झसङ्ग भए। मेरा वरपरका दृश्य विश्वास गर्न गाह्रा थिए । मेरो छातीबाट रगत बग्दै थियो। वरपर हेरेँ, मेरा सबै साथीहरू रगतमा पौडिँदै थिए।
म त सपनाको संसारमा पो डुबेछु। हुन पनि सपना यति राम्रो थियो कि दुश्मनले गोली लाग्दा पनि पत्तै भएन तर आमालाई दसैँमा जसरी पनि घर आउँछु भनी सधैँका लागि घर नफर्किने गरी जाँदैछु भन्ने कुरा थाहा पाएर मुटु दुख्यो। ती रङ्गीन सपना अनि बुढी आमाको अनुहारसमेत बिस्तारै धमिलो हुँदै गयो । "के मेरा ती सपना साँचा थिए त ?"आफैलाई प्रश्न गर्दै थिए। तर अचानक मलाई निन्द्राले आफूतिर तान्यो अनि म पनि आँखा चिम्लिँदै सधैँका लागि निन्द्रामा परेँ।
7 reads
Published on 2/13/2026
Sameeha Nepal is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Sameeha Nepal
Grade 11
Roll No: 27101
2
More Articles from
Student