underline

डियरवाकमा म

Underline

Share:

डियरवाकमा म

डियरवाक सिफल सेकेन्डरी स्कूलको प्राङ्गणमा चालिएको मेरो पहिलो पाइलाे केवल एउटा शैक्षिक सुरुवात मात्र थिएन, बरु मेरो जीवनको वृहत्तर उद्देश्य प्राप्तिको दिशामा एउटा दृढ प्रस्थानविन्दु थियो। यो यस्तो ज्ञानभूमि हो, जसले मलाई बौद्धिक र आत्मिक रूपमा अन्धकारबाट उज्यालोतर्फ डोर्‍याउने छ भन्ने कुरामा म विश्वस्त छु। यस विद्यारुपी मन्दिरमा म एक निष्ठावान् साधक बनेर शिक्षकररुपी गुरु र पुजारीहरूबाट ज्ञान, संस्कार र साक्षरताको अमूल्य प्रसाद ग्रहण गर्ने सङ्कल्पका साथ प्रवेश गरेकाे हुँ ।

विद्यालय प्रवेश गर्दा त्यहाँको भौतिक सौन्दर्य, ढकमक्क फुलेका पुष्पहरू र शान्तिको प्रतीक निलो रङले सजिएको भव्य संरचनाले पहिलो नजरमै मेरो मन र मस्तिष्कलाई आकर्षित गर्‍यो। यस बाह्य आकर्षणभन्दा पनि मलाई यहाँको व्यावहारिक, गतिशील र विशेष गरी अत्याधुनिक प्राविधिक शिक्षण पद्धतिले बढी प्रभावित तुल्यायो। कक्षाकोठामा व्यवस्थित रूपमा राखिएका कुर्सी, टेबल र बोर्डले मलाई केवल बस्न र लेख्न मात्र सिकाएनन्, बरु जीवनलाई पनि यसरी नै सुव्यवस्थित र अनुशासित राख्न सके मात्र हाम्रो अस्तित्व र पहिचान जीवन्त रहन्छ भन्ने दार्शनिक बोध गराए। कक्षाको पश्चिमी भित्तामा गोलाकार घडीले समयको गतिशीलता र महत्त्वलाई निरन्तर स्मरण गराइरहन्छ। एक थुकी सुकी, सय थुकी नदी भन्ने शाश्वत सत्यलाई आत्मसात् गर्दै, नितान्त एकाङ्की भएर पढ्नुभन्दा साथीभाइबीचको सामूहिक सहकार्य र वैचारिक आदानप्रदानले ज्ञानलाई मस्तिष्कमा सधैँका लागि दिगो र जीवन्त राख्छ भन्ने अमूल्य शिक्षा पनि गुरुहरूबाट पहिलो दिनमै प्राप्त भयो।

पहिलो दिनको यस यात्रामा हाम्रो स्वागतार्थ अभिमुखीकरण कार्यक्रम' आयोजना गरिएको थियो, जहाँ विद्यालयका नीति, नियम र मूल्य-मान्यताहरूबारे गहन अभिमुखीकरण कार्यक्रम रहेकाे थियाे । साे कार्यक्रममा वातावरणीय चेतना, क्यान्टिनको सुसंस्कृत नियम, अग्रजप्रतिको आदर र अनुजप्रतिको स्नेहजस्ता मानवीय मूल्यहरूका सम्बन्धमा सिकाउनुभएकाे थियाे । 'आइस ब्रेकर' गतिविधिहरू मार्फत नयाँ सहपाठीहरूसँग परिचय गर्ने र 'टिम बिल्डिङ' अर्थात् सामूहिक भावनाका साथ नेतृत्वदायी भूमिका निर्वाह गर्ने अवसर मिल्यो। अभिमुखीकरणकाे समापनसँगै आयोजित 'ट्रेजर हन्ट' जस्ताे एउटा रणनीतिक खेलले हामीलाई निकै रोमाञ्चित बनायो। खेलको नियमअनुसार हाम्रो समूहले विभिन्न बौद्धिक र सिर्जनात्मक प्रश्नहरूको समाधान गर्दै ९ वटा अक्षरहरू खोजेर एउटा अर्थपूर्ण शब्द निर्माण गर्नुपर्ने थियो। हाम्रो समूहले पूर्ण समन्वय र नियमको परिधिभित्र रही उक्त चुनौतीलाई पार गर्‍यो। यस खेलले हामीलाई जीवनमा आइपर्ने जस्तोसुकै जटिल समस्याहरूलाई पनि धैर्य, नियम र सामूहिक प्रयत्नका माध्यमबाट कसरी समाधान गर्न सकिन्छ भन्ने व्यावहारिक जीवन-कौशल सिकायो।

विद्यालयको मुख्य प्रवेशद्वारमा अहोरात्र रक्षार्थ खटिनुहुने सुरक्षाकर्मीहरूको समर्पण आफैँमा अनुकरणीय छ । जो विद्यालयमा सबैभन्दा अगाडि उपस्थित हुनुहुन्छ र सबैको प्रस्थानपछि मात्र आफ्नो कार्य पूरा गर्नुहुन्छ। मूल ढोका नजिकै अवस्थित सोधपुछ कक्षले विद्यार्थी र अभिभावकका हरेक जिज्ञासा एवं अन्योलहरूलाई अत्यन्तै हार्दिकताका साथ समाधान गर्दै आएको छ। त्यस्तै, टाढा-टाढाबाट आउने विद्यार्थीहरूका लागि विद्यालयले सुरक्षित र भरपर्दो यातायातको सुविधा व्यवस्थापन गरेर अभिभावकीय जिम्मेवारी बहन गरेको देखिन्छ।

मैले यस विद्यालयलाई विशुद्ध शैक्षिक संस्था मात्र नभएर एउटा आधुनिक 'आईटी हब' का रूपमा अनुभूत गरेको छु। यहाँ प्राविधिक रूपमा पोख्त शिक्षकहरूद्वारा कोडिङ र डिजिटल प्रविधिको उच्चस्तरीय ज्ञान प्रदान गरिन्छ। यहाँसम्म कि क्यान्टिनको सञ्चालन र खाद्य व्यवस्थापनमा समेत कम्प्युटर प्रणालीको प्रयोग हुनुले विद्यालयको आधुनिकतालाई झल्काउँछ। विद्यालयको यो प्राविधिक दक्षता र शैक्षिक गुणस्तरको संयोजन देख्दा लाग्छ यहाँको शिक्षा पद्धति साँच्चै 'सुनमा सुगन्ध' जस्तै बनेको छ। विद्यालयमा दैनिक रूपमा सिकाइने नैतिक मन्त्र र सदाचारका कुराहरूले विद्यार्थीहरूलाई सधैँ सत्यको मार्गमा हिँड्न, पारस्परिक सम्मान कायम गर्न र आफ्नो परिवेशप्रति जिम्मेवार बन्न निरन्तर प्रेरित गरिरहन्छन् ।

अतः डियरवाक सिफल सेकेन्डरी स्कूलले परम्परागत र सैद्धान्तिक शिक्षण पद्धतिलाई चुनौती दिँदै आधुनिक प्रविधि र कोडिङलाई आफ्नो मुख्य मेरुदण्ड बनाएको छ। यहाँ विद्यार्थीले केवल किताबी ज्ञान मात्र कण्ठ गर्दैनन्, बरु व्यावहारिक सिप, उच्च अनुशासन र अब्बल नेतृत्व क्षमताको विकास गर्छन्। सिफलको शान्त वातावरण र अत्याधुनिक पूर्वाधारले विद्यार्थीको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउन उत्प्रेरकको भूमिका खेलेका छन्। यो संस्था विद्यार्थीहरूको भविष्य निर्माण गर्ने रेखा मात्र होइन, उनीहरूको सपनालाई असीमित उडान दिने एउटा दह्रो र भरपर्दो मञ्च पनि हो।

पहिलो दिनको यस अविस्मरणीय अनुभवले मलाई के सिकाएको छ भने जीवनको हरेक दिनलाई पहिलो र अन्तिम दिन जस्तै ऊर्जावान् र महत्त्वपूर्ण मानेर जिउनुपर्छ किनकि हरेक सुरुवातले एउटा नयाँ र सुनौलो इतिहासको जग बसाल्छ। डियरवाक सिफलको यस सुन्दर यात्रामा सामेल हुन चाहने आगामी पुस्ताका नयाँ विद्यार्थीहरूका लागि म यति मात्र भन्न चाहन्छु, "यहाँ सम्भावनाका ढोकाहरू पूर्ण रूपमा खुला छन्, तिमी मात्र दह्रो आत्मबलका साथ पहिलो पाइला चाल, बाँकी सफलताको गौरवमय कथा समयले आफैँ लेख्दै जाने छ।"

4 reads

Published on 7/20/2026

Image

Krishna Chaudhary is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Krishna Chaudhary

Grade 11

Roll No: 28083

1