दसैँ पर्व
दसैँ हिन्दुहरुको महान् चाड हाे। दसैँ सुरु हुँदा हावापानीमा विशेष परिवर्तन आउँछ। ठुलो झरी रोकिन्छ । आकाश सफा र निलो हुन्छ । सुन्दर हिमालहरू हाम्रै अगाडि देखा पर्छन्। दसैँको सबैभन्दा राम्रो पक्ष भनेको यसले परिवारलाई फेरि एक ठाउँमा ल्याउँछ। हामी सबै वर्षभरि विद्यालय वा काममा व्यस्त हुन्छौँ र धेरै मानिसहरू विभिन्न सहरहरूमा बसाइँ सर्छन् तर दसैँको समयमा सबैले आफ्ना कामहरू रोक्छन्। अचानक शान्त घरहरू फेरि हाँसो र कुराकानीले भरिन्छन्। भान्साकोठामा खसीको मासुको झोल र मिठो सेलरोटी जस्ता परम्परागत परिकारको बास्नाले मगमगाउँछ। सबैले आफ्नो घर सफा गर्छन् । नयाँ कपडा किन्छन् र सबैसँगै हुदाँ खुसीले रमाउँछन्।आकाश रङ्गीचङ्गी कागजका चङ्गाहरूले भरिन्छ र केटाकेटीहरू छतबाट खुसीले चिच्याउँछन्। हरेक खुल्ला चौरमा मानिसहरू बाँसको ठुलो पिङ बनाउँछन्। साना केटाकेटीदेखि लिएर वृद्ध, हजुरबा र हजुरआमासम्म सबैले मुस्कुराउँदै पिङ खेलेको सुन्दर दृश्य झन यो समय रमाइलो देखिन्छ। सबैभन्दा महत्त्वपूर्ण दिन टीकाको दिन हो। परिवारका सबैजना एउटा गोलो घेरासँगै बस्छन्। मान्यजनहरूले निधारमा रातो टीका लगाइदिनुहुन्छ र कानको पछाडि पहेंलो जमरा राखिदिनुहुन्छ। सानो हुँदा सबै केटाकेटीहरुले प्रायः दक्षिणाको आशा गर्छन् तर टीका लगाएर आशीर्वाद पाएपछि वास्तविक उपहार त माया पो रहेछ भन्ने महसुस हुन्छ । हजुरबा र हजुरआमाले हाम्रो स्वास्थ्य र भविष्यको लागि आशीर्वाद दिएको सुन्नु एउटा यस्तो पल हो जुन हामीले कहिल्यै बिर्सनुहुन्न । पन्ध्र दिनपछि दसैँ सकिन्छ। आफ्नो झोला प्याक गरेर जन्मभूमि छोडेर कर्मभूमितिर फर्किँदा सबैको मन खिन्न हुन्छ । दसैँ हाम्रो संस्कृति, हाम्रो पहिचान र हामीलाई सबैभन्दा बढी माया गर्ने मानिसहरूको एउटा सुन्दर सम्झना बोकेको सुन्दर सङ्ग्रह हो दसैँ । देशविदेशमा रहनुभएका सम्पूर्ण आफन्तजनहरूलाई एउटै धागोमा बाँध्ने ठुलो चाड हो दसैँ ।
4 reads
Published on 10/7/2026
Aayush Dhakal is a student at Deerwalk Pokhara School who is passionate about football and music.
Aayush Dhakal
Grade 7
Roll No: 32019
Deerwalk Pokhara School
1