underline

डियरवाकमा मेरो अनुभव

Underline

Share:

धेरैजसो विद्यार्थीहरूलाई आफ्नो विद्यालयको पहिलो दिनको याद हुन्‍छ हाेला। मेरो कथा भने अलि फरक छ, किनभने मैले आफ्नो अध्ययन डियरवाकबाट सुरु गरेको थिइनँ। मैले एड्भेन्चरबाट सुरु गरेको थिएँ, जुन विद्यालय पछि बिस्तारै पूर्णतया नयाँ वातावरणमा रूपान्तरण भयो। डियरवाक फाउन्डेसनले यसको व्यवस्थापन सम्हाल्यो, विद्यालयको पुनर्निर्माण भयो र बिस्तारै एड्भेन्चर डियरवाकमा परिणत भयो। म उही ठाउँमा र उस्तै मानिसहरूसँगै थिएँ, तर विद्यालय भने परिवर्तन हुँदै थियो।

डियरवाकको बारेमा मैले सबैभन्दा पहिले ख्याल गरेको कुरा यहाँको वातावरण थियो। यो विद्यालय निकै हरियाली, खुला र अन्य धेरैजसो विद्यालयहरूभन्दा पूर्ण रूपमा फरक अनुभूति दिने खालको छ। विद्यार्थीहरूलाई आफ्ना विचार व्यक्त गर्न दिइने स्वतन्त्रताको पनि म कदर गर्छु; अतिरिक्त क्रियाकलापहरू छनोट गर्न र विद्यालयका विभिन्न गतिविधिहरूमा संलग्‍न हुन पर्याप्त स्वतन्त्रता पाइन्छ, जसले गर्दा विद्यालय जीवन अझ रोचक बन्छ भन्‍ने मलाई लाग्छ।

मलाई सधैँ विद्यालयका क्रियाकलापहरूमा सहभागी हुन र विभिन्‍न कार्यक्रमहरूमा होस्टिङ गर्न मन पर्छ, त्यसैले म स्वाभाविक रूपमा यहाँ पनि ती गतिविधिहरूमा जोडिएँ। डेअरवाकमा मलाई मन परेको अर्को कुरा यहाँको एसेम्बलीको प्रणाली हो। यहाँ हरेक कक्षाले पालैपालो एसेम्बली होस्ट गर्ने अवसर पाउँछ, जसले गर्दा विद्यार्थीहरूले गीत गाउने, नाच्‍ने र आफ्ना अन्य प्रतिभाहरू देखाउने मौका पाउँछन्। मलाई यो प्रणाली ट्यालेन्ट शो जस्तै लाग्छ, जहाँ हरेक विद्यार्थीले आफूभित्र भएको प्रतिभा देखाउन सक्छन्। मलाई पनि विद्यालयको एसेम्बली होस्ट गर्ने अवसर मिल्यो, जुन मेरो लागि निकै रमाइलो अनुभव थियो। त्यस्तै, हाजिर जवाफ प्रतियाेगितामा सुरुमा ४० अङ्‍कले पछाडि परे पनि पछि राम्रो गर्दै जित्दा निकै खुसी लागेको थियो। ४० अङ्‍कले पछाडि परे पनि पछि राम्राे गरेर जितेको त्यो क्षण मेरो लागि अझै पनि निकै सम्झनलायक छ। मलाई सम्झना भएको अर्को अनुभव भनेको ‘डिबेट नाइट’ को अन्तिम रातको कार्यक्रम होस्टिङ गर्नु हो। मञ्‍चमा उभिएर कार्यक्रमलाई अगाडि बढाउन पाउनु मेरो लागि आफूलाई मन पर्ने काम गर्ने अर्को एउटा राम्रो अवसर थियो।

तथापि, विद्यालयका मेरा केही मनपर्ने क्षणहरू धेरै साधारण छन्। हामीले पटक-पटक फुटसल खेल्ने, पौडी खेल्ने र अन्य विभिन्न खेलहरू खेल्ने अवसर पाउँछौँ। यी दिनहरू सामान्य पढाइ हुने दिनभन्दा निकै उत्साहजनक हुन्छन्। यस्तै गतिविधिहरूले गर्दा विद्यालयको दैनिकी एकोहोरो र उराठ लाग्दो हुँदैन।

पढाइलेखाइ अझै पनि डियरवाकको एउटा महत्त्वपूर्ण पाटो हो। हामीले आफ्नो अध्ययनलाई गम्भीरताका साथ लिनुपर्छ, तर कक्षाकोठा बाहिरका अन्य गतिविधिहरूमा सहभागी हुने अवसरहरू पनि उपलब्ध छन्। मलाई यी दुवै कुराको सन्तुलन मन पर्छ, किनकि केवल पढाइ मात्रै हुने हो भने विद्यालय निकै नीरस हुने थियो।

यहाँ बिताएको समयमा मैले अनुभव गरेको अर्को कुरा भनेको विद्यालयमा भएको ठूलो सुधार हो। यहाँका भौतिक पूर्वाधार तथा सुविधामा उल्लेख्य परिवर्तन आएको छ र डियरवाक यथास्थितिमा नरही निरन्तर प्रगति पथमा अघि बढेको छ। समयअनुसार आफूलाई ठूलो रूपमा रूपान्तरण गर्न सक्ने यसको क्षमता नै यस विद्यालयको सबैभन्दा रोचक पक्षहरूमध्ये एक हो भन्‍ने मलाई लाग्छ।

यहाँको मेरो अनुभवले मलाई अझ आत्मविश्‍वासी र आत्मनिर्भर बन्‍न मद्दत गरेको छ। विभिन्‍न गतिविधिहरूमा संलग्‍न हुनाले मलाई कुराकानी गर्न, आफ्ना भावना व्यक्त गर्न र आफ्ना क्षमताहरू जाँच्‍ने धेरै अवसरहरू दिएको छ। डियरवाकले मेरो व्यक्तित्त्‍वलाई पूर्ण रूपमा बदलेको त छैन, तर यहाँको वातावरणले यी सकारात्मक गुणहरू विकास गर्न पक्कै पनि सहयोग पुर्‍याएको छ।

निस्‍सन्‍देह मेरो अनुभव पूर्ण रूपमा सबैलाई उचित नलाग्‍न पनि सक्‍छ तर मैले जति लेखेँ ती आफ्‍ना मनाेभावनाहरू लेखेँ।यहाँका हरेक दिन निकै रोमाञ्‍चक पनि मलाई लाग्दैन, तर यहाँका केही पक्षहरू म साँच्चिकै मन पराउँछु—स्वतन्‍त्र, वातावरण र विद्यार्थीहरूलाई आफ्ना भावना व्यक्त गर्न दिइने अवसरहरू। समग्रमा भन्‍नुपर्दा डियरवाककाे मेरो अनुभव अविस्‍मरणीय छ । मेरो लागि डियरवाक केवल एउटा यस्तो ठाउँ हो जहाँ मैले अध्ययन गरेँ, विभिन्न गतिविधिमा भाग लिएँ, नयाँ कुराहरू सिक्‍ने प्रयास गरेँ र आफ्नो विद्यालय जीवनको एउटा महत्त्वपूर्ण समय बिताएँ। मेरो अनुभव अझै जारी नै छ, त्यसैले बाँकी अनुभव अर्काे लेखमा लेख्‍ने छु र डियरवाककाे विद्यार्थी हुन पाएकामा गर्व गर्छु ।

4 reads

Published on 9/30/2026

Image

Samundra Acharya is a student at Deerwalk Bharatpur School who loves to explore new things and writing articles.

Samundra Acharya

Grade 10

Roll No: 29007

Deerwalk Bharatpur School

2

More Articles from

Student

Underline