अरुको देश स्वर्ग बनाउन आफ्नो पसिना बेच्नुभन्दा आफू जन्मेको माटोमा पसिना बगाउनु गौरवको कुरा हो।आजभाेलि युवाहरू यसकाे विपरीत भएका छन् । गाउँघर खाली छन् । जिउँदो हुँदा जन्ती जाने र मर्दा लास बोक्ने गाउँमा कोही छैन । अब त फर्क युवाहरु तिम्रै गाउँको हावापानीले तिमीलाई बोलाएको छ। तिमीहरूका पाइला स्वदेशमा नै देख्नका लागि कति आफन्तजनले आफ्ना परेला भिजाएका छन् । अरू देशका युवाहरू त देश विकासका मेरुदण्ड बनिसके । तिमीहरू पनि त एकजुट भएर काम गर्ने भनेकाे खै त ? खेतबारी सुख्खा नराखाैँ भनेको खै त ? युवाहरूले बल र आँट देखाएको खै त ? यी सबै प्रश्नको उत्तर तिमीहरूले नै दिनुपर्ने हाे तर आफ्नाे जन्मभूमि छोडेर देश रित्याएका छाै । युवाहरूले त देशमा नै अवसर खाेज्नुपर्ने हाे । देशमा बसेर केही गर्न सकिँदैन भन्दै किन विदेश गइरहेका छन् ? मेहनत र परिश्रम गर्ने हाे भने त यहीँ पनि राम्रो आम्दानी गर्न सकिन्छ । अब ढिला नगर छिटोभन्दा छिटो घर फर्क । हिजोको दिनमा जुन गाउँमा युवाहरूको हाँसो र पसिनाले भिजेको माटो हाँस्थ्यो । आज त्यहाँ लौरी टेकेका वृद्धवृद्धा र तिनका उदास आँखाहरू मात्र बाँकी छन् । युवा तिमीहरू कहिले फर्कने त देश ?