यदि मैले ४ जि पि ए ल्याएँ भने
यदि मैले ४ जि पि ए ल्याएँ भने
विद्याथीै जीवनमा हरेक विद्यार्थीको आफ्नो एउटा लक्ष्य र सपना हुन्छ। कसैको डाक्टर बन्ने सपना हुन्छ, कसैको इन्जिनियर बन्ने, कसैको शिक्षक बन्ने। त्यसैगरी मेरो पनि अहिलेको एउटा ठूलो लक्ष्य राम्रोसँग पढेर एस.इ.इ मा ४ जि पि ए ल्याउनु हो। ४ जि पि ए ल्याउनु मेरो लागि केवल राम्रो अङ्क प्राप्त गर्नु मात्र होइन, आफूले गरेको मिहिनेत सफल भएको महसुस गर्नु पनि हो। यदि मैले ४ जि पि ए ल्याएँ भने त्यो मेरो जीवनको सबैभन्दा खुसीको क्षणमध्ये एक हुने छ।
मेरो यो लक्ष्य पूरा गर्न मेरो परिवारको ठूलो सहयोग हुने छ। मेरा आमाबुबाले मलाई पढाइमा सधैँ हौसला दिनुहुन्छ। म थाक्दा वा पढाइ गाह्रो लाग्दा उहाँहरूले मलाई हिम्मत दिनुहुन्छ र आफ्नो लक्ष्यबाट पछि नहट्न सम्झाउनुहुन्छ। मैले राम्रो नतिजा ल्याएको देख्दा उहाँहरू मभन्दा पनि धेरै खुसी हुनुहुने छ। त्यसैले मैले प्राप्त गर्ने ४ जि पि ए मेरो मात्र सफलता नभएर मेरो परिवारको पनि खुसीको विषय हुने छ।
त्यसैगरी, ४ जि पि ए ल्याउने यात्रामा मेरा शिक्षकहरूको भूमिका पनि निकै महत्त्वपूर्ण हुने छ। विद्यालयमा नबुझेका कुराहरू शिक्षकहरूले सरल तरिकाले बुझाउनुहुन्छ। कुनै विषय गाह्रो लागेमा उहाँहरूसँग प्रश्न साेधेर आफ्नो समस्या समाधान गर्न सक्छु। उहाँहरूले मेरो कमजोरी पहिचान गर्न, गल्ती सच्याउन र अझ राम्रो गर्न मार्गदर्शन गर्नुहुने छ। शिक्षकहरूको हौसला र सुझावले मलाई पढाइमा अझ ध्यान दिन प्रेरणा मिल्नेछ। त्यसैले म उहाँहरूले दिएको सुझावलाई ध्यानपूर्वक पालना गर्नेछु।
तर परिवार र शिक्षकहरूको सहयोग मात्र भएर मेरो लक्ष्य पूरा हुँदैन। त्यसका लागि मैले आफैँ पनि धेरै मिहिनेत गर्नुपर्छ। त्यसैले अबदेखि म आफ्नो समयलाई खेर फाल्ने छैन। नियमित रूपमा पढ्ने, गृहकार्य समयमै गर्ने, कक्षामा ध्यान दिने र हरेक दिन पढेको कुरा दोहोर्याउने बानी बसाल्ने छु। जुन विषयमा म कमजोर छु, त्यसमा अझ बढी समय दिने छु। नबुझेको कुरा लुकाएर बस्नुकाे सट्टा शिक्षक र साथीहरूसँग सोधेर बुझ्ने छु।
४ जि पि ए ल्याउन सजिलो छैन भन्ने कुरा मलाई थाहा छ। बाटोमा धेरै कठिनाइहरू आउन सक्छन्। कहिलेकाहीँ पढ्न मन नलाग्न सक्छ, परीक्षाको डर लाग्न सक्छ वा आफूले सोचेको जस्तो अङ्क नआउन सक्छ। तर एउटा नराम्रो नतिजाले म निराश भएर आफ्नो लक्ष्य छोड्ने छैन। आफ्नो गल्तीबाट सिकेर फेरि अझ धेरै मेहनत गर्ने छु। म आफूलाई अरूसँग तुलना गर्नुभन्दा हिजोभन्दा आज राम्रो बन्ने प्रयास गर्ने छु ।
यदि मैले अन्ततः ४ जि पि ए ल्याएँ भने म सबैभन्दा पहिले आफ्ना आमाबुबा र शिक्षकहरूलाई धन्यवाद दिने छु। उहाँहरूको माया, सहयोग, हौसला र मार्गदर्शन मेरो सफलताको महत्त्वपूर्ण कारण हुने छ। त्यसपछि आफूले गरेको मिहिनेत सम्झेर आफूमा पनि गर्व महसुस हुने छ। त्यो सफलताले मलाई भविष्यमा अझ ठूला सपना देख्न र ती सपना पूरा गर्न प्रेरणा दिने छ।
अन्त्यमा, ४ जि पि ए मेरो लागि केवल एउटा अङ्क होइन। यो मेरो निरन्तर मेहनत, अनुशासन, परिवारको साथ र शिक्षकहरूको मार्गदर्शनको परिणाम हुने छ। त्यसैले भविष्यमा “यदि मैले ४ जि पि ए ल्याएँ भनेँ” भनेर मात्र सोचेर बस्ने होइन, त्यसका लागि आजैदेखि मिहिनेत गर्नुपर्छ। म आफ्नो लक्ष्यलाई मनमा राखेर इमानदारीपूर्वक पढ्ने छु र सकेसम्म राम्रो प्रयास गर्ने छु। मलाई विश्वास छ, निरन्तर मेहनत र सही मार्गदर्शन पाएमा मेरो ४ जि पि ए ल्याउने सपना अवश्य पूरा हुने छ।
44 reads
Published on 9/22/2026
Prapti Khadka is a student at Deerwalk Bharatpur School. She loves to reading book and enjoys exploring new things.
Prapti Khadka
Grade 10
Roll No: 29002
Deerwalk Bharatpur School
1