फेरि उज्यालो
१४ वर्षकी आयुषी विद्यालयबाट फर्किँदै थिइन्। उसको मनमा गणितको होमवर्क र साथीहरूसँगको कुरा चलिरहेको थियो। घर पुग्दा गेटबाहिर धेरै मान्छेहरू उभिएका थिए। सबैको अनुहार डराएको जस्तो देखिन्थ्यो।
“के भयो?” आयुषीले सोधिन्।
छिमेकी सावित्री काकी दौडेर आइन्, “आयुषी, तिम्री आमा र हजुरआमा दुर्घटनामा परे। अस्पताल लगेका छन्।”
त्यो सुनेर उसको घुँडा कमजोर भयो। “के... के भयो ?” उसको स्वर काँप्यो।
“गाडी ठोक्कियाे, डर नलिनू, बेहोस मात्रै हुनुभएको छ, बाँच्नुभएको छ।”
“बाँच्नुभएको छ ?” यही शब्द आयुषीले फेरि फेरि दाेहाेर्याइन्। आँसु आँखाबाट बग्यो तर मनमा एउटा सानो राहत आयो, बाँच्नुभएको छ ?
आयुषी अस्पताल पुग्दा आमालाई बेहोस अवस्थामा देखिन्। हातमा पट्टी बाँधिएको, अनुहारमा ससाना चोटहरू। हजुरआमा अर्कोतर्फको बेडमा सुतिरहनुभएकाे थियाे । आयुषीको हृदय पोल्यो, तर ऊ त्यहाँ उभिइन।
डाक्टरले भन्नुभयो, “दुवैको अवस्था अब स्थिर छ, केही दिन विश्राम चाहिन्छ।”
आयुषीले गहिरो सास फेरिन् अनि भनिन। “धन्यवाद, सर।”
त्यो रात उनी अस्पतालकै कुर्सीमा बसिरहिन्। हजुरआमाको सास सुनेर ढुक्क भइन्, आमाको हात समाएर बसिन।
“आमा, म यहाँ छु, तपाईंहरू ठिक हुनुहुने छ,” उनले बिस्तारै भनिन्।
केही दिनपछि आमा र हजुरआमा घर फर्किनुभयो। घर अब अलि फरक लाग्थ्यो। हजुरआमा अझै उठ्न सक्नुभइकाे थिएन । आमालाई पनि आराम चाहिएको थियो। आयुषी अचानक ठुलो भएर देखिन थालिन्।
“आयुषी, पानी त ल्याइदे न,” आमाले हल्का स्वरमा भनुभयो।
“हुन्छ, आमा,” उनले भन्थिन्।
भान्सामा गएर उनले पानी ल्याइन्, अनि खाना बनाउन पनि सिक्न थालिन्। पहिले कहिल्यै नगरेका काम अब उनी आफैँ गर्न थालिन्।
कहिलेकाहीँ थकाइ लाग्थ्यो, राति पढ्न मन नलाग्ने, कहिलेकाहीँ रिस उठ्ने।
“किन ममात्र?” उनले आफैँलाई सोध्थिन्।
तर फेरि आमाको मुस्कान सम्झन्थिन्, “हामी सबैले एकअर्काको हेरचाह गर्नुपर्छ।”
त्यो सम्झँदा उनी फेरि उठ्थिन्।
विद्यालयमा पनि उनी पहिले जस्तो हाँस्दिनथिन्। साथीहरूले सोध्थे,
“आमा र हजुरआमा अब ठिक?”
“ठिक हुँदै हुनुहुन्छ,” उनी भन्थिन्, मुस्कुराउने प्रयास गर्दै।
शिक्षकले नोटिस गरे र एकदिन बोलाए,
“आयुषी, ठिक छ्याै ?”
“छु, सर,” उनले भनिन्, तर मनभित्र अझै भारी महसुस भइरहेकै थियो।
घर फर्किँदा उनी बाटोमा आकाश हेर्थिन, बादल, घाम, हावा, सबै फरक देखिन्थ्यो।
“जीवन साँच्चै अस्थिर रहेछ,” उसले सोच्थिन्।
एक साँझ उनी आमाको कोठामा गइन्। आमा किताब पढ्दै हनुहुन्थियो।
“आमा!”
“भन?”
“म डराएकी थिएँ… त्यो दिन"
आमाले मुस्कुराउँदै उनको हात समाउनुभयो। “हामी कहाँ जानेछौँ र, आयुषी ? तिमीले त हाम्रो संसार उज्यालो बनाएकी छ्यौ।”
हजुरआमाले पनि सुन्नुभयो र हल्का हाँस्नुभयो। “हेर न, हाम्री नातिनी कति ठुली भइसकिछे।”
त्यो क्षणमा आयुषीको आँखा फेरि रसाए तर यसपटक त्यो आँसु दुःखको होइन सुखकाे थियाे ।
त्यसपछि जीवन बिस्तारै सामान्य हुँदै गयो। आमा अब हिँड्न सक्ने हुनुभयाे, हजुरआमाको हात पनि राम्रो भएको थियो।
आयुषीले फेरि पढाइमा ध्यान दिन थालिन्, साथीहरूसँग हाँस्न थालिन् तर ऊ पहिले जस्तै बेफिक्र थिइन।
अब उनी बुझ्न थालिन्, ‘खुसीलाई पनि जोगाउनुपर्छ।’
हजुरआमाको सल्लाह सम्झन्छे , “बाबु, दुःखले पनि मानिसलाई सिकाउँछ।”
एक साँझ ऊ छतमा गई। आमाले तलबाट बोलाइरहनुभएकाे थियाे, “खाना तयार छ।”
उनले हावामा हेरिन्, सास फेरिन् र मुस्कुराइन् ।
“धन्यवाद, भगवान, तपाईंले उहाँहरूलाई बचाउनुभयो।”
त्यो रात उनले आफ्नो डायरी खोलिन् र लेखिन् ।
“आज म डराउँदिन। जीवन कहिलेकाहीँ भाँचिन्छ तर फेरि जोडिन्छ पनि। आमा र हजुरआमा मेरो संसार अनि म उहाँहरूको उज्यालो।”
उनले कलम राखिन्, झ्याल बन्द गरिन्, निदाइन्।
बाहिर चन्द्रमाले झ्यालबाट कोठामा उज्यालो पठाइरहेको थियो।
आयुषीको सास पहिले जस्तो भारी थिएन।
10 reads
Published on 12/4/2025
Ritika Rajbhandari is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics and engaging in creative discussions.
Ritika Rajbhandari
Grade 11
Roll No: 27074
2
More Articles from
Student