नतिजाको पछाडि लुकेको मेरो प्रयास
नतिजाको पछाडि लुकेको मेरो प्रयास
सबैले देखे मात्र पानाको अङ्क,
कसैले बुझेनन् मनको त्यो तरङ्ग।
सोधे केवल 'किन भएन विकास?'
बुझेनन् कसैले नतिजा पछाडिको प्रयास।
बलेका छन् रातमा आँखाका बत्ती,
निद्रालाई त्यागेर पढेँ म कत्ति!
आमाबुबाको मुहारमा हाँसो फुलाउन,
सुकाएँ खुसीका मुनाहरू आफ्नै मनाउन।
अङ्कका पानामा मात्र होइन सीमित,
लुकेका छन् त्यहाँ सपना र आँसु असीमित।
मलाई गालीको विष हैन, हौसलाको अमृत देऊ,
दबाबको साङ्लो छाडी थोरै विश्रामको सास देऊ।
पढ्दिनँ भन्दैन म, अझै अघि बढ्छु,
सपनाका पहाडहरू म आफैँ चढ्छु।
तर याद राख,
नतिजा त केवल एउटा पाना हो,
मेरो प्रयास त सिङ्गो जीवनको पाना-पाना हो!
मलाई अङ्कको तराजुमा तोक्ने समाज हैन,
मेरा भावनालाई बुझ्ने एउटा न्यानो मन चाहिन्छ।
आज अङ्क कम होला, भोलि सूर्य उदाउँछ,
मेरो अथक प्रयासले एकदिन सफलता अवश्य ल्याउँछ!
-सजना
4 reads
Published on 10/2/2026
कक्षा आठमा अध्ययनरत छात्रा सजना थापाको सोच र भोगाइ साँच्चै नै मर्मस्पर्शी छ। प्राप्ताङ्क र नतिजाको तराजुमा विद्यार्थीको अनगिन्ती रातको समर्पण र भावनालाई तौलिने आधुनिक शिक्षा प्रणाली तथा अभिभावकीय दबाबमाथि यस कविताले ठूलो प्रश्न उठाएको छ। उहाँका तिनै मौलिक भावना, पीडा, सपना र दृढ सङ्कल्पलाई उतारिएको बिम्ब, प्रतीक, वक्रोक्ति शैली र अनुप्रासात्मक कविताले सजनालाई थप उचाइ प्रदान गरेको छ।
Sajana Thapa
Grade 8
Roll No: 311016
Deerwalk Dhading School
1