छोरी मान्छेको जात
कविता
छोरी मान्छेको जात
सानोमा सोच्थेँ म,
कुन भूगोलको नक्सामा पर्छ होला यो जात?
कुन धर्मको वेद वा कुरानमा लेखिन्छ होला यसको मन्त्र?
म त तामाङ, मगर वा राईका थरहरू मात्र सुन्थेँ,
तर सधैँ मेरो टाउकामा झुण्ड्याइन्थ्यो,
'छोरी मान्छेको जात'।
उमेरका खुड्किलाहरूसँगै
मैले बुझ्दै गएँ,
यो कुनै जात होइन,
यो त एउटा सीमारेखा रहेछ,
जसभित्र गुम्स्याइन्छ हाम्रा सपना र अट्टहासहरू।
सधैँ सुन्नुपर्ने विधिको विधान जस्तै एउटै भाका,
"छोरी भएर यति पनि ढङ्ग छैन?"
बामे सर्न नपाउँदै बिहानीको घाम,
सुनिन्छ उपदेश, "हत्तारिएर उठ्नुपर्छ,
भोलि अर्काको आँगनमा तेरो आलस्यले मेरो इज्जत नखुम्चियोस्।"
पल्टाउनै आँटेका बेला किताबका पानाहरू
घरेलु चुलोको धूवाँ देखाएर भनिन्छ,
"अक्षर धेरै कमाएर के गर्छ्याै नानी?
अन्त्यमा, जाने त उही त्यही पोइको दैलो हो ।"
बाहिरी छालामा अडेको मेरो बर्चस्व
हृदयको भित्री स्वाभिमानमा कहिले उकालिन्छ?
सुन्छु,
"अनुहार काली भयो भने केटा पाउन गाह्रो होला!"
मानौँ, म कुनै बजारको पिज्जा हुँ ।
जसको मूल्य अनुहारको आकार र रङ्गको प्रकारले तोकिन्छ।
हाम्रो जीवन त,
न खोला वारि, न खोला पारि,
बिचको तुइनमा अल्झिएको एउटा कमजोर यात्रा जस्तै!
जहाँ सानो खुट्टा चिप्लियो भने पनि
सिधै खसिन्छ रीत र समाजको धमिलो भेलमा।
जन्मियो एउटा दैलोमा,
हाँस्यो, खेल्यो, पखेटा हाल्नै लागेको हुन्छ,
उडेर अर्कै आकाशमा बिलाउनुपर्छ।
त्यहाँ पनि,
उनीहरूकै इच्छाको रङ्गमा रङ्गिनुपर्ने,
उनीहरूकै वंशको दियो बालिरहनुपर्ने,
आफू रित्तिएर पनि अरूलाई भरिपूर्ण बनाइदिनुपर्ने।
कस्तो दोधारे पहिचान हो यो !
आफ्नो घर भनौँ त अर्काको नासो,
अर्काको घर भनौँ त जीवनभर पराई।
साँच्चै, कस्तो दोबाटोमा उभ्याइएको हुन्छ
यो 'छोरी मान्छेको जात'!
2 reads
Published on 9/23/2026
खिन्सुराई कक्षा ८ की मेहनती र प्रतिभाशाली छात्रा हुन् नाक्ज्न गाउन र सुमधुर स्वरमा कविता वाचन गर्नु उनको विशेष रुचि हो । पुस्तकालयमा बसेर साहित्यिक रचना अध्ययन गर्न रुचाउने उनको भविष्य साहित्यिक क्षेत्रमा उज्ज्वल देखिन्छ ।
खिन्सु राई
Grade 8
Roll No: 311005
Deerwalk Dhading School
1