underline

समयको महत्त्व

Underline

Share:

समय मानिसको जीवनमा सबैभन्दा महत्त्वपूर्ण र मूल्यवान् कुरा हो। संसारमा धेरै यस्ता वस्तुहरू छन्, जुन हराएपछि फेरि प्राप्त गर्न सकिन्छ। पैसा हराएमा फेरि कमाउन सकिन्छ । सामान बिग्रिएमा नयाँ किन्न सकिन्छ तर एकपटक बितेको समयलाई कहिल्यै फर्काएर ल्याउन सकिँदैन। त्यसैले समयको सही सदुपयोग गर्नु प्रत्येक मानिसका लागि आवश्यक हुन्छ। समयको महत्त्व विद्यार्थी जीवनमा अझ बढी हुन्छ, किनभने विद्यार्थी जीवन नै भविष्य निर्माण गर्ने समय हो।

म मोहित बस्नेत, डियरवाक पोखरा स्कुलमा कक्षा १० मा अध्ययनरत विद्यार्थी हुँ। कक्षा १० मा पढ्न थालेको लगभग ६ महिना भइसकेको छ। यी ६ महिनाको अनुभवबाट मैले समयको महत्त्व पहिलेभन्दा धेरै बुझ्न थालेको छु। कक्षा १० मा पढाइसँगै विभिन्न assignment, homework, project, परीक्षा तयारी तथा अन्य विद्यालयका कामहरू पनि गर्नुपर्ने हुन्छ। यसका साथै व्यक्तिगत काम, परिवारका लागि समय र आरामका लागि पनि समय छुट्याउनुपर्छ। यी सबै कामलाई मिलाएर अगाडि बढ्न समयको सही व्यवस्थापन आवश्यक हुन्छ। कक्षा १० सुरु हुँदा मैले समय व्यवस्थापनको महत्त्व त्यति धेरै महसुस गरेको थिइन। कहिलेकाहीँ कुनै assignment आज नगरेर भोलि गरौँला भनेर छोडिन्थ्यो तर त्यही कामहरू पछि धेरै जम्मा हुँदा तनाव हुने र छोटो समयमा धेरै काम पूरा गर्नुपर्ने अवस्था आउँथ्यो। त्यसबाट मैले एउटा महत्त्वपूर्ण कुरा सिकेँ कामलाई पछि सार्दै जाँदा समय बच्दैन, बरु भविष्यमा अझ बढी समस्या उत्पन्न हुन्छ। अहिले म आफ्नो कामलाई प्राथमिकताका आधारमा पूरा गर्ने प्रयास गर्छु। विद्यालयबाट दिइएका assignment र homework सकेसम्म समयमै गर्ने गर्छु। पढाइका लागि छुट्टै समय निकाल्नुका साथै व्यक्तिगत काम र आरामका लागि पनि समय छुट्याउन आवश्यक ठान्छु। यसरी आफ्नो दिनलाई व्यवस्थित गर्दा सबै कामका लागि पर्याप्त समय पाउन सकिन्छ। काम समयमै पूरा हुँदा मनमा अनावश्यक तनाव पनि हुँदैन र पढाइमा ध्यान केन्द्रित गर्न सजिलो हुन्छ।

समयको सदुपयोग गर्नु भनेको दिनभर पढाइ वा काम मात्र गर्नु होइन। विद्यार्थीका लागि पढाइसँगै खेलकुद, मनोरञ्जन, परिवारसँग समय बिताउने र आफ्ना रुचिका काम गर्ने समय पनि आवश्यक हुन्छ । यी सबै कामका लागि उचित समय छुट्याउन सक्नुपर्छ। मोबाइल फोन र सामाजिक सञ्जालमा आवश्यकभन्दा बढी समय बिताउँदा हाम्रो महत्त्वपूर्ण समय खेर जान सक्छ। त्यसैले प्रविधिको प्रयोग गर्दा पनि समयको सीमालाई ध्यान दिनुपर्छ। समय व्यवस्थापनले मानिसलाई अनुशासित र जिम्मेवार बन्न पनि सिकाउँछ। यदि हामीले आज गर्नुपर्ने काम आजै पूरा गर्ने बानी बसाल्यौँ भने भविष्यमा ठूला जिम्मेवारी पूरा गर्न पनि सजिलो हुन्छ। विशेषगरी कक्षा १० जस्तो महत्त्वपूर्ण शैक्षिक वर्षमा समयको सही उपयोग गर्नु निकै आवश्यक छ। परीक्षा नजिक आएपछि मात्र पढ्नुभन्दा हरेक दिन थोरै–थोरै समय पढ्नु बढी प्रभावकारी हुन्छ।

अन्त्यमा, मेरो कक्षा १० को लगभग ६ महिनाको अनुभवले मलाई समयको वास्तविक महत्त्व बुझाएको छ। मैले बुझेको छु कि समय हाम्रो जीवनको यस्तो सम्पत्ति हो, जसलाई बचत गरेर भविष्यमा प्रयोग गर्न सकिँदैन। त्यसैले हरेक दिन प्राप्त हुने समयलाई सही रूपमा प्रयोग गर्नुपर्छ। आजको काम भोलिका लागि सार्नुको सट्टा समयमै पूरा गर्ने बानी विकास गर्नुपर्छ। समयको सम्मान गर्नु भनेको आफ्नो जीवन, लक्ष्य र भविष्यको सम्मान गर्नु हो।

5 reads

Published on 10/9/2026

Image

Mohit Basnet is a student at Deerwalk Pokhara School. He is obedient and well-behaved. He enjoys playing football and basketball, and he gets along well with everyone.

Mohit Basnet

Grade 10

Roll No: 29003

Deerwalk Pokhara School

1