हामी बाँचिरहेका छौँ कि केवल स्क्रोल गरिरहेका छौँ ?
आजको युग विज्ञान र प्रविधिको युग हो। मोबाइल, इन्टरनेट र सामाजिक सञ्जाल हाम्रो दैनिक जीवनको एउटा महत्वपूर्ण हिस्सा बनिसकेका छन्। बिहान उठेदेखि राति सुत्ने बेलासम्म हामीमध्ये धेरैको हातमा मोबाइल हुन्छ। केही नयाँ कुरा हेर्न, साथीहरूसँग कुरा गर्न, समाचार पढ्न वा मनोरञ्जन गर्न सामाजिक सञ्जाल उपयोगी छ। तर कहिलेकाहीँ हामीले आफैँलाई एउटा प्रश्न सोध्नुपर्ने हुन्छ—हामी वास्तवमै बाँचिरहेका छौँ कि केवल मोबाइलको स्क्रिन स्क्रोल गरिरहेका छौँ?
पहिले मानिसहरू फुर्सदको समयमा परिवारसँग बसेर कुरा गर्थे, साथीहरूसँग बाहिर खेल्थे र प्रकृतिसँग समय बिताउँथे। अहिले भने केही मिनेट खाली भयो कि मोबाइल निकाल्ने बानी बसेको छ। हामी एउटा भिडियो हेर्न मोबाइल खोल्छौँ, तर त्यसपछि अर्को भिडियो, अर्को पोस्ट र अर्को रील हेर्दै घण्टौँ बिताएकाे पत्तै पाउँदैनाैँ। समय बितिरहेको हुन्छ, तर हामी त्यसलाई महसुस गरिरहेका हुँदैनौँ।
विशेष गरी विद्यार्थीहरूका लागि यो समस्या अझ महत्त्वपूर्ण छ। पढ्न बसेको बेला मोबाइलमा आएको एउटा सूचनाले ध्यान तान्छ। “एकछिन मात्र हेर्छु” भनेर मोबाइल चलाउँदा कहिलेकाहीँ आधा घण्टा वा त्योभन्दा बढी समय बितिसकेको हुन्छ। त्यसपछि गृहकार्य अधुरो हुन्छ, पढाइमा ध्यान जान छोड्छ र आफूले गर्नुपर्ने कामको बोझ बढ्दै जान्छ। यसरी मोबाइल हाम्रो आवश्यकता पूरा गर्ने साधनबाट हाम्रो समय नियन्त्रण गर्ने वस्तु बन्दै छ ।
सामाजिक सञ्जालको अर्को प्रभाव भनेको अरूसँग आफ्नो तुलना गर्नु हो। अरूले राखेका राम्रा फोटो, घुमघामका भिडियो वा सफलताका पोस्ट देख्दा हामीलाई आफ्नो जीवन सामान्य वा कमजोर जस्तो लाग्न सक्छ। तर सामाजिक सञ्जालमा मानिसले आफ्नो जीवनको राम्रो पक्ष मात्र देखाउने गर्छ। त्यसैले स्क्रिनमा देखिएको जीवन र वास्तविक जीवन एउटै हुँदैन। अरूसँग तुलना गरेर आफूलाई कमजाेर ठान्नु बुद्धिमानी होइन।
यसको अर्थ सामाजिक सञ्जाल खराब नै हो भन्ने होइन। यसबाट हामी ज्ञान लिन सक्छौँ, नयाँ कुरा सिक्न सक्छौँ, टाढा रहेका मानिससँग सम्पर्कमा रहन सक्छौँ र आफ्नो प्रतिभा पनि देखाउन सक्छौँ। समस्या प्रविधिमा होइन, माल पाएर चाल नपाउनुमा हाे ।
त्यसैले हामीले मोबाइलको प्रयोगमा सन्तुलन कायम गर्नुपर्छ। पढ्ने समयमा मोबाइललाई टाढा राख्ने निश्चित समयमा मात्र सामाजिक सञ्जाल चलाउने, परिवार र साथीहरूसँग प्रत्यक्ष कुराकानी गर्ने, खेलकुद तथा सिर्जनात्मक काममा समय दिने बानी बसाल्नुपर्छ। कहिलेकाहीँ मोबाइलबाट केही समय टाढा बसेर आकाश हेर्नु, किताब पढ्नु वा प्रकृतिमा रमाउनु पनि आवश्यक छ।
जीवन केवल प्रविधिकाे सङ्ग्रह होइन। हाम्रो वास्तविक खुसी परिवारसँगको हाँसो, साथीसँगको मित्रता, मेहनतपछि प्राप्त हुने सफलता र आफ्नै अनुभवमा लुकेको हुन्छ। त्यसैले मोबाइल चलाऔँ, तर मोबाइलले हामीलाई नचलाओस्। अन्ततः हामीले आफैँलाई सोध्नुपर्छ—हामी आफ्नो जीवन बाँचिरहेका छौँ कि अरूको जीवन अवलाेकन गर्दै आफ्नै समय गुमाइरहेका छौँ?
1 reads
Published on 10/1/2026
Prasamsha is a honest and obedient student of Deerwalk Bharatpur School who likes to read books and learn new things.
Prasamsha Bartaula
Grade 9
Roll No: 30011
Deerwalk Bharatpur School
1