underline

‘कमलीको मन’ उपन्यासको समीक्षा

Underline

Share:

‘कमलीको मन’ उपन्यासको समीक्षा

‘कमलीको मन’ उपन्यासको कथा गाउँघरको परिवेशमा आधारित छ। उपन्यासमा कोरोना महामारी सुरु भइसकेको समयको घटनालाई प्रस्तुत गरिएको छ। त्यही समयमा कमलीको विद्यालयको अन्तिम दिन थियो। सबै विद्यार्थीहरू हतार–हतार गर्दै कक्षाकोठाभित्र प्रवेश गरिरहेका थिए। त्यही समयमा गुरुआमाको नेपाली कक्षा थियो।

सबै विद्यार्थीहरूले गुरुआमालाई उठेर अभिवादन गरे। गुरुआमाले मुसुक्क हाँस्दै सबै विद्यार्थीहरूलाई बस्न आग्रह गर्नुभयो। त्यत्तिकैमा दोस्रो बेन्चबाट कमली उठ्दै बोली, “गुरुआमा, अब त हामी छिट्टै कक्षा ६ मा पुग्छौँ। आज म कक्षा ५ का केही अनुभवहरू सुनाउँछु नि, हुन्छ?”

गुरुआमाले “हुन्छ” भन्दै आफ्ना अनुभवहरू सुनाउनका लागि कमलीलाई अनुमति दिनुभयो। कमलीले आफ्ना साथीहरूबाट सिकेका कुरा र आफूले साथीहरूलाई सिकाएका कुराहरू पनि बताइन्। त्यसपछि धेरै विद्यार्थीहरूले आफ्ना अनुभवहरू सुनाए। गुरुआमाले सबैलाई कोरोना महामारी फैलिएको कुरा सुनाउनुभयो। कमली र उनका साथीहरू अब विद्यालय बन्द हुने भयो भनेर नरमाइलो मानिरहेका थिए।

अब विद्यालयको छुट्टी भयो। सबै विद्यार्थीहरू घरतिर लागे तर निर्मली, कमली र मीरा केहीबेर खेल्नका लागि बसे। साँझ परेपछि निर्मली, मीरा र कमली पनि घरतिर लागे।

भोलिपल्ट कमली बिहानै उठी गाईलाई घाँस हाल्न थाली। आमा भान्साकोठाबाट भन्नुभयो, “आज तिमी चाँडै उठेछौ त!”

कमलीले जवाफ दिई, “होइन क्या आमा, गाई कराइरहेको छ। म घाँस हालिदिन्छु।”

त्यसपछि उनी भित्र गइन् र आफ्ना किताब–कापी पल्टाएर बसिन्। विद्यालय बन्द भएकाले उनले विद्यालयका कापीहरू पनि हेर्न थालिन्।

दसैँ पनि आउँदै थियो। सबै पसलहरू बन्द थिए। पोहोरको जस्तो पिङ देखिँदैनथ्यो। रातो टीका र जमरा पनि देखिन छोडेको थियो। कमली मनमनै यी सबै कुराहरू सोचिरहेकी थिइन्।

कमलीकी आमाले कमलीलाई निर्मलीको घरमा पुर्‍याइदिनु भनेकी थिइन्। कमली दिनदिनै आफ्ना साथीहरूका बारेमा सोचिरहेकी हुन्थिन्।

एक दिन विद्यालयबाट खबर आयो, “विद्यालय अब चाँडै खुल्नेछ। तर त्यतिबेलासम्म सबै विद्यार्थीहरूले विद्यालयले दिएका कार्यहरू अनिवार्य रूपमा गर्नुपर्नेछ।”

यो खबर सुनेर कमली अत्यन्तै उत्साहित र खुसी भइन्। एक दिन प्रिन्सिपल सर सबै विद्यार्थीहरूको घर–घरमा आउनुभएको रहेछ। उहाँ कमलीको घरमा पनि पुग्नुभयो।

कमलीले आफ्ना साथीहरूका बारेमा सोधिन् र विद्यालय कहिलेबाट खुल्छ भन्ने प्रश्न गरिन्। सरले मीराका बारेमा बताउनुभयो। मीराकी आमालाई ज्वरो आएको रहेछ। उनका बुबा पनि विदेशबाट आउनुभएको रहेछ। उनका बुबाले कोरोना छ कि छैन भनेर परीक्षण गराउनुभएको रहेछ तर उहाँमा कोरोना देखिएन। पछि मीराकी आमालाई पनि कोरोना लागेको थाहा भयो।

सबै अस्पतालहरूले उनको उपचार गर्न मानेनन्। अन्ततः कोरोना संक्रमणका कारण मीराकी आमाले यो संसार छोडेर जानुपर्‍यो। उनलाई कोरोना उनका बुबाबाटै सरेको रहेछ।

प्रिन्सिपल सरले कमलीलाई भन्नुभयो, “तिमीले सकेको सहयोग गर्नुपर्छ है।” साथै उहाँले अब विद्यालय चाँडै खुल्ने कुरा पनि बताउनुभयो।

कमलीको विद्यालय माघ महिनाको अन्तिम हप्ताबाट सुरु भयो। कमलीले मीराका लागि रिबनहरू ल्याइदिएकी थिइन्। उनी अरू विद्यार्थीहरूभन्दा चाँडै विद्यालय आइन्। निर्मली र मीरा पनि विद्यालय आए। विद्यालयमा मीराले आफ्ना साथीहरूसामु आफ्ना दुःखहरू हल्का मनले बाँडिन्।

पात्रहरू:

१. कमली :

कमली यस कथाकी मुख्य पात्र तथा सहयोगी, मेहनती र जिम्मेवार विद्यार्थी हुन्। उनी आफ्ना साथीहरूप्रति निकै माया र सद्भाव राख्छिन्। साथीहरूबाट सिकेका कुरा अरूलाई सिकाउन पनि उनी सधैँ तत्पर हुन्छिन्। विद्यालयप्रति उनको गहिरो लगाव छ। कठिन परिस्थितिमा पनि उनी निराश नभई आफ्नो पढाइलाई निरन्तरता दिन्छिन्। मीराकी आमाको निधनपछि मीराप्रति सहानुभूति देखाउँदै उनलाई आवश्यक सहयोग गर्नु उनको सहयोगी र संवेदनशील स्वभावको परिचय हो।

२. कमलीकी आमा :

कमलीकी आमा ममतामयी, सरल र जिम्मेवार महिला हुन्। श्रीमान् लामो समयदेखि सम्पर्कविहीन भए पनि उनले छोरीको पालनपोषण र हेरचाह गर्दै आएकी छन्। उनी कमलीको दैनिक जीवन र पढाइप्रति चासो राख्छिन्। छोरीलाई अनुशासनमा राख्दै माया र स्नेहका साथ हुर्काउने आमाको रूपमा उनको चरित्र प्रस्तुत भएको छ।

३. निर्मली :

निर्मली कमलीकी मिल्ने साथी हुन्। उनी सहयोगी, कर्तव्यनिष्ठ र मिलनसार स्वभावकी छिन्। कमली र मीरासँग आत्मीय सम्बन्ध राख्ने निर्मली साथीहरूको सुख–दुःखमा साथ दिने स्वभावकी पात्र हुन्। उनी आफ्ना जिम्मेवारीप्रति सचेत र साथीहरूप्रति सद्भाव राख्ने भएकाले उनको चरित्र प्रेरणादायी देखिन्छ।

४. मीरा :

मीरा यस कथाकी संवेदनशील र दुःखद परिस्थितिबाट गुज्रिएकी पात्र हुन्। कोरोना महामारीका कारण उनले आफ्नी आमालाई गुमाउनुपर्छ। आमाको निधनले उनी गहिरो पीडामा परे पनि आफ्ना साथीहरूसँग पुनः विद्यालयमा जोडिन्छिन्। साथीहरूको माया, साथ र सहयोगले उनको दुःख केही कम हुन्छ। उनको चरित्रले विपत्तिमा परेका व्यक्तिप्रति माया, सहानुभूति र सहयोग आवश्यक हुन्छ भन्ने सन्देश दिन्छ।

५. प्रिन्सिपल सर :

प्रिन्सिपल सर जिम्मेवार, संवेदनशील, सहयोगी र विद्यार्थीप्रति अभिभावकीय भावना राख्ने व्यक्ति हुन्। कोरोना महामारीका कठिन परिस्थितिमा पनि उनी विद्यार्थीहरूको अवस्था बुझ्न घर–घरमा पुग्छन्। मीराको दुःखबारे कमलीलाई जानकारी गराउँदै उनलाई सक्दो सहयोग गर्न प्रेरित गर्छन्। विद्यार्थीहरूको शिक्षा र सुरक्षाप्रति चिन्तित रहने भएकाले उनी कर्तव्यनिष्ठ र मानवीय चरित्रका पात्रका रूपमा देखिन्छन्।

निष्कर्ष:

हामीले जीवनमा कहिल्यै हार खानु हुँदैन। हाम्रो जीवनमा जस्तोसुकै परिस्थिति आए पनि त्यसको सामना गर्दै अघि बढ्न सक्नुपर्छ।

3 reads

Published on 9/22/2026

Image

जियना श्रेष्ठ कक्षा ६ मा पढ्ने अत्यन्तै मेहनती तथा मिलनसार छात्रा हुन्। उनी कक्षामा अनुशासित हुनुका साथै साहित्यिक किताबहरू पढ्ने, चित्र बनाउने तथा कविताहरू लेख्ने र विचारमूलक निबन्धहरु लेख्नमा सिपालु छिन्। भविष्यकी उनी आशालाग्दी प्रतिभा हुन्

Jiyana Shrestha

Grade 6

Roll No: 331027

1