पानीको रङ : समीक्षा / पुस्तकानुभूति Drag
परिचय
सशक्त कवि, गजलकार तथा मुक्तकार ऋषि बस्ताकोटीद्वारा रचित ‘पानीको रङ’ नेपाली समाजसँग सम्बन्धित विभिन्न विषयवस्तुमा लेखिएका कविताहरूको एक सङ्ग्रह हो। यस पुस्तकमार्फत उनले प्राकृतिक संरक्षण, सत्य, न्याय, समता, प्रेम, भ्रातृत्व आदि विषय समेटेर लेखिएका सुक्तिमय र सरल शैलीका गहन कविताहरूले नेपालीहरुको मनमस्तिष्कलाई छोएको छ ।
यस पुस्तकमा कुल ४० वटा कविताहरू संकलित छन्। ती कविता सरल भए पनि गहिरा विषयहरूको वरिपरि रहेर प्रतिविम्बन तथा व्यङ्ग्यको प्रयोगसहित रचना भएका छन् । तीमध्ये मलाई रोचक लागेका केही विशिष्ट कविताहरूको विश्लेषण यसप्रकार छः
१. बादलका बुट्टाहरू
यस कवितामा हाम्रो मानसिक सोचाइको विश्लेषण गरिएको छ। मानिसको छल तथा अरूलाई दुःख दिने हिंसात्मक प्रवृत्तिलाई बादलका बुट्टाहरूमार्फत मानव सोच र कल्पनाको रूपकका रूपमा प्रस्तुत गरिएको छ।
२. बाका जुत्ता
यस कवितामा बुबा हुनका कर्तव्य र स्वाभिमानलाई जुत्ताको कथाबाट प्रस्तुत गरिएको छ। यसमा विशिष्ट बाको गुणका साथै नेपाली समाजमा रहेका विवश बुवाहरूको बेदना पनि उजागर गरिएको छ।
३. झिँगाहरू
यस कवितामा कविले समाजका त्यस्ता मानिसहरूको चर्चा गरेका छन्, जसले आफ्नो स्वार्थ मात्र देख्छन्। जीवनका विभिन्न मोडमा भेटिने साथीहरूमध्ये केही तत्कालका लागि मात्र साथी बनेर आफ्नो फाइदा निकाल्न खोज्छन्। झिँगाहरूको प्रतीक प्रयोग गरी त्यस्ता मानिसहरूको चित्रण गरिएको छ।
४. म्यादीमाइला
नेपालीहरूको एक तीतो सत्यको चित्रण यस कवितामा गरिएको छ। प्रस्तुत पात्रको बदलिने काम र पदसँगै देशमा परिवर्तन ल्याउने प्रयास पनि बढ्दै जान्छ; तर धेरै नेपालीहरूको प्रयास अन्ततः विफल हुन्छ र अन्तिममा उनीहरूको जीवन फेरि उही चक्रमा फर्किन्छ भन्ने व्याख्या गरिएको छ।
५. उन्मुक्तिको गीत
यस कवितामा नेपालीहरू तानाशाही शासनबाट मुक्त भएपछि अनुभूत गरिएको भावनालाई स्मरणका रूपमा प्रस्तुत गरिएको छ।
६. तिम्रो मायामा
यस कवितामा कविले आफ्नो एकतर्फी प्रेमको चर्चा गर्दै प्रेमका लागि गरेको प्रयास तथा त्यसक्रममा आफूमा आएको परिवर्तनको भाव प्रस्तुत गरेका छन् ।
७. आप्रवासी रामप्रसाद
यस कवितामा रामप्रसादको पहिचान द्वन्द्वमार्फत विदेसिएका नेपालीहरूको दुविधा प्रस्तुत गरिएको छ। रामप्रसादको छोरो अमेरिकाको संस्कृति अपनाउँछ भने रामप्रसाद न त पूर्ण रूपमा नेपाली हुन सक्छ, न पूर्ण रूपमा अमेरिकी, जसले उसको पहिचानलाई दोधारमा पारेको देखिन्छ।
८. तिमी गएपछि
यो सङ्ग्रहभरिकै उत्कृष्ट तथा जटिल कवितामध्ये एक हो। ‘छुट्नु’ बाट आएको पीडासँगै उत्पन्न चुनौतीहरू र त्यसले मानिसको जीवनयात्रामा पार्ने प्रभावको चर्चा यसमा गरिएको छ।
विषयवस्तु
यस कवितासङ्ग्रहमा नेपाली समाजका विविध पक्षहरू छन् । यसमा रहेका कविताहरू ‘झिँगाहरू’, ‘भ्यागुताहरू’, ‘हामी बलरामहरू’ ,’ साँढेहरू’र ‘बादलका बुट्टाहरू’ ले समाजमा रहेका मानिसहरूको मानसिक अवस्था, व्यवहार र विडम्बनालाई प्रतीकात्मक रूपमा देखाउँछन्। ‘तिम्रो मायामा’, ‘तिम्रो जन्मदिनमा’ र ‘मृगतृष्णा’ ले यौवनकालीन भाव, प्रेमको गहिरो अनुभूति र मोहभङ्गलाई प्रस्तुत गर्छन् । पारिवारिक सम्बन्धको आत्मीयता ‘मेरा बा’, ‘बाको जुत्ता’ र ‘आमा घर हो’ मा प्रकट भएको छ, जहाँ बाबुआमाप्रतिको माया, सम्झना र सम्मान तथा उनी हरूको त्याग तथा भोगेका दुःख र कष्टलाई भावुक ढङ्गले व्यक्त गरिएको छ।
कविता सङ्ग्रहका अन्य रचनाहरूले परदेसिएका नेपाली समाजको कथा,नेपालीहरूको पीडा र सङ्घर्ष ,वर्तमान र भूतको तुलनात्मक खण्डनजस्ता विषयबारे कवितामा व्याख्या गरिएको छ। ‘आप्रवासी रामप्रसाद’ मा परदेशमा बस्ने नेपालीहरूको सङ्घर्ष र पहिचानको खोज झल्किन्छ भने ‘म्यादीमाइला’ मा अवसर र परिवर्तनको चाहनामा विदेशिनु परेको बाध्यता चित्रण गरिएको छ र नेपालीहरूको परिवर्तनको चाहनालाई आर्थिक अवस्थाले सम्हाल्न नसक्दा कसरी एक चक्रव्युमा फसी पुनः आफ्नो पुरानो अवस्थामा नेपालहरू फर्कन्छन् भन्ने नेपालीहरूको भावपूर्ण विडम्बनाको कुरा गरिएकाे छ। ‘उन्मुक्तिको गीत’ले राणा शासनपछिको समय, स्वतन्त्रताको उत्साह र राजनीतिक परिवर्तनको सङ्केत दिइएको छ। यी सबै कविताका माध्यमबाट कविले नेपाली जनजीवनका पीडा, सपना र सङ्घर्षलाई शब्दमा उतारेका छन् ।
परिवेश:
कविता सङ्ग्रहमा मुख्यतः नेपाल, नेपाली तथा नेपाली समाजलाई केन्द्रमा राखी सिर्जित कविताहरू समावेश गरिएका छन् । यसअन्तर्गत नेपाली समाजका विभिन्न समयकाल तथा तिनका परिवेशको चित्रण गरिएको छ । उदाहरणका रूपमा ‘उन्मुक्तिको गीत’ ले नेपालीहरूले राणा शासनबाट मुक्त भएको ऐतिहासिक परिवेशलाई प्रस्तुत गर्छ भने ‘म्यादीमाइला’ ले अवसर र परिवर्तनको खोजीमा विदेशिनु परेको अवस्थालाई, अर्थात् प्रतिभा पलायनको वास्तविकतालाई उजागर गर्छ ।
विदेसिएका नेपालीहरूको जीवन तथा पहिचानसँग जोडिएको परिवेशलाई देखाउन ‘आप्रवासी रामप्रसाद’ रचना गरिएको छ। पारिवारिक परिवेशको चित्रण ‘मेरा बा’, ‘बाको जुत्ता’ र ‘आमा घर हो’ जस्ता कवितामा भेटिन्छ, जहाँ परिवार, माया, त्याग र आत्मीयता अभिव्यक्त भएका छन् ।
प्रेम र यौवनकालीन मानसिक अवस्थालाई प्रस्तुत गर्न ‘तिम्रो मायामा’, ‘तिम्रो जन्मदिनमा’ र ‘मृगतृष्णा’ जस्ता कविताहरू प्रयोग भएका छन् । त्यस्तै समाजका मानिसहरूको मनस्थिति, व्यवहार र विडम्बनालाई देखाउन ‘झिँगाहरू’, ‘भ्यागुताहरू’, ‘हामी बलरामहरू’ र ‘बादलका बुट्टाहरू’ जस्ता कविता उल्लेखित छन्।
यसरी विभिन्न सामाजिक, राजनीतिक, पारिवारिक, मनोवैज्ञानिक तथा भावनात्मक परिवेशलाई आधार बनाई विविध विषयका कविताहरू यस सङ्ग्रहमा समाहित गरिएका छन् ।
निष्कर्ष
यस कविता सङ्ग्रहले विभिन्न क्षेत्रबाट कविताहरू संकलन गरी कल्पना र यथार्थको मिश्रणमार्फत सामाजिक तथा राजनीतिक परिवेश र भावनात्मक द्वन्द्वलाई प्रतीकात्मक रूपमा अभिव्यक्त गरेको छ । समाजलाई मार्गदर्शन गर्ने ऐनाजस्तै बनी यसले नेपाली जीवन, सोच र अनुभूतिको गहिरो व्याख्या गरेको छ । आफ्नोपनको भावना प्रस्तुत गर्ने यस कविता सङ्ग्रहलाई सम्पूर्ण नेपालीको पहिचानका रूपमा पनि लिन सकिन्छ, र यसै कारण यी कविताहरू पाठकको मनमस्तिष्कमा बस्न सफल भएका छन् ।
5 reads
Published on 12/9/2025
Prasan Khatiwoda is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Prasan Khatiwoda
Grade 12
Roll No: 26046
1