underline

"शिक्षाको महत्त्‍व "

Underline

Share:

मानिसको जीवनमा अत्यन्त महत्त्‍वपूर्ण कुरा हो । शिक्षा भनेको विद्यालय गएर किताब पढ्नु र परीक्षा पास गर्नु मात्र होइन, शिक्षाले मानिसलाई ज्ञान, सिप, राम्रो व्यवहार गर्न र आफ्नो जीवनमा सही निर्णय लिन सिकाउँछ । त्यसैले शिक्षालाई मानिसको जीवनको आधार मानिन्छ ।

हामीले पहिलो शिक्षा आफ्नै घरबाट पाउँछौँ । आमाबुबा, हजुरबा, हजुरआमा र परिवारका अन्य सदस्यहरूले हामीलाई बोल्न, हिँड्न, अरूलाई सम्मान गर्न र राम्रो व्यवहार गर्न सिकाउनुहुन्छ । त्यसपछि हामी विद्यालयमा गएर विभिन्‍न विषयका ज्ञान प्राप्त गर्छौं । विद्यालयमा शिक्षकहरूले हामीलाई पढाइसँगै जीवनका लागि अति आवश्‍यक ज्ञानका कुराहरू सिकाउनुहुन्‍छ ।अनुशासन, समयको महत्त्‍व, सहयोग र जिम्मेवारीको बारेमा पनि सिकाउनुहुन्छ जसले हामीलाई असल मानिस बनेर जीवन चलाउन सहयाेग गर्छ ।

आजको समयमा शिक्षाको महत्त्‍व दिनदिनै झन् बढेको छ । विज्ञान र प्रविधिको विकाससँगै संसार धेरै परिवर्तन भइरहेको छ । मोबाइल, कम्प्युटर र इन्टरनेटको प्रयोगले मानिसलाई धेरै कुरा सिक्न सजिलो बनाएको छ । विद्यार्थीहरूले घरमै बसेर पनि विभिन्‍न विषयको जानकारी लिन सक्छन् । तर इन्टरनेटमा भएका सबै कुरा सही हुँदैनन् । त्यसैले हामीले आफूले पाएको जानकारी सही हो कि होइन भनेर पनि बुझ्‍नुपर्छ । सबै कुरा इन्टरनेटमा भर पर्नु हुँदैन ।

शिक्षाले मानिसलाई आत्मनिर्भर बन्‍न पनि सहयोग गर्छ । राम्रो शिक्षा पाएपछि मानिसले आफ्नो रुचि र क्षमताअनुसार विभिन्न क्षेत्रमा काम गर्न सक्छ । कोही डाक्टर, शिक्षक, इन्जिनियर, किसान, व्यवसायी वा वकिल बन्‍न सक्छन् । आफ्नो ज्ञान र सिपको प्रयोग गरेर मानिसले आफ्नो परिवार र समाजको विकासमा योगदान दिन सक्छ ।

तर हाम्रो समाजमा अझै पनि सबै मानिसले समान रूपमा शिक्षा पाउन सकेका छैनन् । गरिबी, दुर्गम ठाउँ, विद्यालयको कमी र आर्थिक समस्याका कारण केही बालबालिकाले पढाइ छोड्नुपर्ने अवस्था छ । यस्ता समस्या हटाउन सरकार, विद्यालय, अभिभावक र समाज सबैले मिलेर काम गर्नुपर्छ । कुनै पनि बालबालिका पैसाको अभावमा शिक्षाबाट बञ्‍चित हुनु हुँदैन ।

शिक्षा केवल आफ्नो भविष्य बनाउनका लागि मात्र होइन, राम्रो समाज बनाउनका लागि पनि आवश्यक छ । शिक्षित मानिसले आफ्नो अधिकार र कर्तव्य बुझ्छ र अरूको सम्मान गर्न सिक्छ । त्यसैले हामीले शिक्षालाई बोझको रूपमा होइन, आफ्नो जीवनलाई राम्रो बनाउने अवसरको रूपमा लिनुपर्छ ।

अन्त्यमा, शिक्षा जीवनभर साथ दिने साथी जस्तै हो । पैसा र सम्पत्ति हराउन सक्छन् तर सिकेको ज्ञान र सिप हराउँदैन । त्यसैले प्रत्येक बालबालिकाले शिक्षाको सही प्रयोग गरी आफ्नो जीवन, परिवार र समाजलाई अझ राम्रो बनाउन प्रयास गर्नु नै असल मा निसकाे कर्तव्‍य हाे ।

1 reads

Published on 10/6/2026

Image

Sakshi is a student of Deerwalk Bharatpur School who has a creative mind and is a hardworking student and loves to draw new things.

Sakshi Sapkota

Grade 9

Roll No: 30016

Deerwalk Bharatpur School

1