underline

नागीगुम्बा तारेभिर पदयात्रा

Underline

Share:

नागीगुम्बा तारेभिर पदयात्रा

डियरवाक सिफल स्कुलले प्रत्येक वर्ष विद्यार्थीहरूलाई पदयात्रा गराउँदै अएकाे छ । याे वर्ष पनि हामी कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरूलाइ २०८२ जेठ ९ गते नागी गुम्बा तारेभिर पदयात्रामा लगेकाे थियाे । विद्यालयबाट बिहान ७:४५ बजे बसमा चढेर बुढानीलकण्ठ मन्दिर परिसरमा हाम्राे बस राेकियाे । चेक पाेस्टसम्म बस जानुपर्ने थियाे तर जान सकेन । बुढानीलकण्ठ मन्दिरबाट हामीले आर्मी चेकपोस्ट टिकट काउन्टरसम्मको मिनी हाइक सुरु गर्‍यौँ । बैजनी फूल र भव्य घरहरूको सुन्दर दृश्यसँगै दम्साइलाे उकालाे, घुमाउरो बाटो थियो । बिहानीकाे कडा घाममा करिब ३० देखि ४० मिनेट हिँडेपछि हामी टिकट काउन्टरमा पुग्यौँ र शिक्षकहरू टिकट लिन लाइनमा बस्नुभयाे । हामी विद्यार्थीहरूले केही समय विश्राम गर्‍यौँ । टिकट लिएपछि सामूहिक तस्बिर खिचेर शिवपुरी राष्ट्रिय निकुञ्जतर्फ लाग्यौँ।

प्रवेशद्वारमा सेनाका अधिकारीहरूले हाम्रो झोला जाँच गरे, ताकि कुनै खतरनाक वस्तु वा स्पिकरजस्ता सामग्री नभएको सुनिश्चित होस्। त्यसपछि सबै जना छोटो सिँढी चढेर ढुङ्गाको बाटोमा पुग्यौँ र करिब दुई घण्टाको पदयात्रा गर्‍यौँ। बाटो लामो भए पनि अत्यन्तै सुन्दर थियो । दुवैतर्फ हरियाली प्रकृतिले हामीलाई घेरेको थियो भने साथीहरूको हाँसो र चराचुरुङ्गीको मधुर आवाजले वातावरण अझ रमाइलो बनाएको थियो । बाटोमा मैले शिक्षकहरूसँग दौडने, चट्टानी बाटो चढ्ने, “बरफ र पानी” खेल्ने र साथीहरूसँग रमाइलो गर्ने जस्ता गतिविधि गरेँ। केही समयपछि हामी एउटा देउराली पुग्यौँ जहाँबाट हाम्रो अर्को गन्तव्य नागी गुम्बा अझ २५ मिनेट टाढा रहेको सङ्केत थियो । हामीले त्यहाँ समूहमा फोटो खिच्यौँ र नागी गुम्बातर्फ लाग्यौँ।

धेरै सिँढी भएकाले नागी गुम्बासम्मको यात्रा निकै कठिन थियो। बाटो थकाइ लाग्दो भए पनि हाम्रा अद्भूत शिक्षकहरूको कारण यात्रा रमाइलो बनिरहेको थियो । म गोविन्द सरसँग दौडिएँ, विज्ञानका विषयमा छलफल गरेँ र बाटोभरि कुरा गरिरहेँ । बिचमा एउटा सानो खोलामा पुगेर हामीले ताजगी महसुस गर्‍यौँ । त्यही क्रममा मेरो सहपाठी आरोन चिप्लिन लागेको दृश्य पनि निकै रोमाञ्चक थियो । केही विश्राम, तीन बोतल पानी र थुप्रै पटक “अब पुगिन्न” भन्ने सोचाइपछि अन्ततः हामी नागी गुम्बा पुग्यौँ।

सिँढी चढ्नेबित्तिकै पहेँलो, रातो र निलो रङ र लुङ्तरले सजिएको भव्य गुम्बाको दृश्यले सबैलाई मोहित बनायो । साँच्चै त्यो दृश्य सम्पूर्ण पदयात्राको मेहनतको योग्य थियो । एक कुनामा दुई जनाले चलाएको सानो पसल थियो र छेउमै पानीको धारा पनि थियो । म र मेरा साथीहरूले त्यहाँ केही खाजा, एनर्जी बार र सफ्ट ड्रिङ्क किन्यौँ अनि खायाैा पियाैँ । त्यसपछि हामी सबै बसेर रमाइलो गर्‍यौँ।

पछि हामी गुम्बा वरिपरि घुम्न गयौँ । त्यहाँ पहेँला फूल फुलेका झाडीहरू, बस्नका लागि बेन्च, आराम गर्न साना आश्रयस्थल र पिकनिक गर्न मिल्ने हरियाे घाँसे मैदान थियाे । केही समयपछि शिक्षकहरूले समूहमा फोटो खिच्न बोलाउनुभयो र हामीले रमाइल तस्बिरहरू खिच्यौँ।

त्यसपछि हामीले सामान प्याक गरेर फेरि सिँढी झर्न सुरु गर्‍यौँ। यसपटक हामी स्फूर्तिवान् भएकाले यात्रा सजिलो लागिरहेको थियो । बाटोमा एउटा सानो स्तूप भएको नयाँ बाटोबाट हामी अघि बढ्यौँ । त्यो बाटो छोटो, छायाँयुक्त र केही ओरालो भएकाले धेरै सहज थियो। केही समयपछि हामी दाेबाटाेमा पुग्यौँ जहाँबाट “तारेभिर” पुग्न २० मिनेट लाग्ने सङ्केत थियो। सबै विद्यार्थीहरूको उपस्थिती सुनिश्चित गरेर सामूहिक फोटो खिचेपछि हामी तारेभिरतर्फ लाग्यौँ ।

तारेभिरसम्मको यात्रा छोटो भए पनि अत्यन्त रमाइलो थियो। बाटोभरि फूल, रुख र अनौठा चट्टानहरूले दृश्य आकर्षक बनाएका थिए। हामीले केही डर्ट बाइक रेसिङ पनि देख्यौँ, जुन निकै रोचक थियो। तारेभीर पुगेपछि सबै विद्यार्थीहरूले “मलाई तारेभिर मन पर्छ” लेखिएको ठुलो बोर्डअगाडि फोटो र भिडियो खिचे । हाम्रो समूह अन्तिममा पुगेको थियो। गोविन्द सरले हाम्रो फोटो खिच्नुभयो र सुरक्षित रूपमा तल झर्न पनि सहयोग गर्नुभयो।

त्यसपछि हामी तारेभिर हुँदै सुन्ताखान बसपार्कसम्म साँघुराे, खुड्किला भएकाे अाेरालाे बाटाे, मकैबारीको बीचबाट अघि बढ्यौँ । ढुङ्गे र भिरालो बाटोमा हिँड्दै मैले दुर्गा सर र साथीहरूसँग कुराकानी गरेँ । सुरुमा बाटो अलि कठिन लागे पनि सावधानी अपनाएपछि सहज महसुस भयो। केही समयपछि हामी फराकिलो घुमाउरो सडकमा आइपुग्यौँ। बाटोभरि सुन्दर दृश्यहरू देखिन्थे, जसले फोटो खिच्ने राम्रो अवसर दियो। यस क्रममा प्रियाशाको खुट्टा मर्कियो र पासाङ चिप्लिए पनि दुवै सकुशल थिए। शिक्षकहरू र साथीहरूले प्रियाशालाई सहयोग गरे।

त्यति वेला म, प्रियाशा, पासाङ, शेरब, स्निग्धा, गोविन्द सर, प्रविना म्याम र केही साथीहरू मात्र बाँकी थियौँ । अन्य विद्यार्थीहरू बसमा पुगिसकेका थिए। यसले मलाई एकातिर लज्जित र अर्कोतिर राहत महसुस गरायो। हामीले बाटोभरि कुरा गर्‍यौँ, पानी किन्यौँ, फोटो खिच्यौँ र अन्ततः करिब ३० मिनेटपछि बस स्टप पुग्यौँ। त्यति वेला हामी निकै तिर्खाएका थियौँ, त्यसैले बस चढ्नुअघि आइसक्रिम किनेर खायौँ।

अन्ततः दिउँसो करिब ३ बजे हामी विद्यालय फर्कियौँ । फर्कने यात्रा अझ रमाइलो र उत्साहपूर्ण थियो। विद्यालय पुगेपछि कक्षा १० का दाइदिदीहरूसँग छोटो कुराकानी भयो। त्यसपछि सबैलाई क्यान्टिनमा लगियो, जहाँ मिठाे खाना उपलब्ध थियो। हामीले थोरै खाएर कक्षामा फर्कियौँ । मैले मोबाइल चार्ज गरेँ, किनकि ब्याट्री सकिन लागेको थियो। पछि म र मेरा साथीहरूले सिनियरहरूसँग टिकटक पनि बनायौँ। त्यसपछि झ्यालबाट बुबालाई आएको देखेपछि म हतारिँदै बाहिर निस्किएँ। अन्त्यमा बुबाले आइसक्रिम किनिदिनुभयो र यसरी दिनको रमाइलो यात्रा समाप्त भयो।

मलाई लाग्छ, यस पदयात्रा यति अविस्मरणीय हुनुको मुख्य कारण शिक्षकहरूको उत्कृष्ट समन्वय थियो। उहाँहरूले सबै ४६ जना विद्यार्थीलाई अत्यन्त व्यवस्थित रूपमा सम्हाल्नुभयो र हरेक परिस्थितिमा सबैलाई सहज महसुस गराउनुभयो। उहाँहरू विद्यार्थीहरूसँग घुलमिल भएर गतिविधिमा सहभागी हुनुभयो, जसले हाम्रो यात्रालाई अझ रमाइलो, साहसिक र रोमाञ्चक बनायो।

दुर्गा सर, प्रबिना म्याम, सरोज सर र गोविन्द सरलाई धेरै धेरै धन्यवाद । कक्षा ९ को पहिलो पदयात्रा साँच्चै अविस्मरणीय रह्यो।

0 reads

Published on 6/10/2026

Image

Nivi Chhetri is a student at Deerwalk Sifal School who loves exploring diverse topics and doing creative work.

Nivi Chhetri

Grade 9

Roll No: 29018

1