underline

मेरो तेक्वान्डो यात्रा

Underline

Share:

मेरो तेक्वान्डो यात्रा

मेरो नाम आयांश जंग भण्डारी हो। म डियरवाक पोखरा स्कुलको कक्षा १ ‘लोत्से’ मा पढ्छु। म ६ वर्षको भएँ। मलाई खेल्न, कुद्न र नयाँ कुरा सिक्न धेरै मन पर्छ। मेरा बुबा र हजुरबुबाको प्रेरणा र हौसलाले मैले तेक्वान्डो सिक्न थालेँ।

तेक्वान्डोले शरीरलाई बलियो बनाउनुका साथै अनुशासन, आत्मविश्वास, एकाग्रता र धैर्य सिकाउँछ। यसमा गरिने फर्मलाई पुम्से भनिन्छ।

मैले तेक्वान्डो सुरु गर्दा सेतो बेल्ट पाएको थिएँ। त्यसपछि पहेंलो हुँदै अहिले हरियो बेल्ट हासिल गरेको छु। हरियो बेल्टका लागि मैले पुम्से र फाइटिङ दुवैको परीक्षा पास गरेको छु। नयाँ बेल्ट पाउँदा मलाई धेरै खुशी लाग्छ।

म हरेक बिहान ६:३० बजे आफ्नो समूहसँग अभ्यास गर्छु। हामी वार्मअप, किक, पन्च, फुटवर्क, पुम्से र फाइटिङको अभ्यास गर्छौँ। साथीहरूसँग मिलेर अभ्यास गर्दा रमाइलो हुन्छ र एक–अर्कालाई हौसला पनि दिन पाइन्छ।

मेरा गुरुहरूले हामीलाई किक र पन्च सही तरिकाले हान्न, शरीरको सन्तुलन मिलाउन र राम्रो फुटवर्क गर्न सिकाउनुहुन्छ। फाइटिङ गर्दा विपक्षीलाई ध्यानपूर्वक हेर्न, आँखाको सम्पर्क राख्न, उसको चाल बुझ्न र सही समयमा प्रतिक्रिया दिन पनि सिकाउनुहुन्छ।

तेक्वान्डोले मलाई अनुशासन, नियमित अभ्यास र मिहिनेतको महत्व सिकाएको छ। गाह्रो भए पनि अभ्यास गरिरहनुपर्छ र कहिल्यै हार मान्नु हुँदैन भन्ने कुरा मैले सिकेको छु।

मेरो ठूलो लक्ष्य भविष्यमा कालो बेल्ट हासिल गर्नु हो। कालो बेल्टपछि पनि तेक्वान्डोको यात्रा समाप्त हुँदैन। त्यसपछि डानका विभिन्न तहहरू पार गर्दै ९औँ डानसम्म पुग्ने लक्ष्य राख्न सकिन्छ। यस क्रममा अझ कठिन पुम्से, प्रविधि र फाइटिङ सिक्दै अगाडि बढ्न सकिन्छ। उच्च तहमा पुगेपछि आफूले सिकेका सिपहरू अरूलाई सिकाएर नयाँ खेलाडीहरूलाई प्रेरणा दिन पनि सकिन्छ।

भविष्यमा राम्रो तेक्वान्डो खेलाडी बनेर विभिन्न प्रतियोगितामा सहभागी हुने र आफ्नो परिवार, डियरवाक पोखरा स्कुल र देशको नाम चिनाउने मेरो ठुलो सपना हो।

14 reads

Published on 9/21/2026

Image

Aayansh Jung Bhandari is a student at Deerwalk Pokhara School with a passion for sports and a natural curiosity for learning new things.

Aayansh Jung Bhandari

Grade 1

Roll No: 38021

Deerwalk Pokhara School

1